सप्तरीदेखि धेरै टाढा छैन कंचनपुर
- कन्चन झा
दुई फरक तथा पृथक घटनामा ६ नेपालीले एकसाता नबित्दै ज्यान गुमाएका छन । सर्वप्रथम हामी फरक मुद्दा र फरक कारणले ज्यान गुमाउने नागरिक प्रति हार्दिक श्रदान्जली सहित बिषय उठान गर्न चाहन्छौ ।
कंचनपुरका युवा गोविन्द गौतम देशको सीमा रक्षाका लागि विदेशी सेनाको तातो गोलीले शहिद भए । उनको हत्याले एकपटक फेरि देश नै झस्किएको छ, असल छिमेकीको आवरणमा बसेर बारम्बार शत्रुवत ब्यवहारगर्दै आएको भारत देखेर । देश एकमत भएर गौतमको मृत्युको बिरोधमा उत्रिएपछि भारतीय उच्च पक्षले दुख मान्ने र चिन्ता ब्यक्त गरेको छ ।
यसले हामीमा रहेको एकता, सदभाव र भाईचाराले फेरि भारतीय पक्ष झस्किएको छ । सैनिक भन्दा एकतालाई शक्ति बनाउदै आएका हामी नेपालीका हकमा यो सबैभन्दा ठुलो हतियार सावित भएको छ । यसमा कुनै दुईमत रहेन ।
केही समय अघि सीमा रक्षाकै लागि सप्तरीको तिलाठीमा नेपालीहरू गम्भीर घाइते भएको घटना शायद धेरैलाई सम्झना होला । यस्तै राजनीतिक आवरणमा रहेका तर भारतीय प्यादा रहेको आरोप खण्डनको यथेष्ट प्रमाण जुटाउन नसकेका र आफुलाई प्रमाणित गर्न नसक्ने मधेशी मोर्चाको विरोधकाक्रममा यसै सप्तरीमा पाँचजनाले ज्यान गुमाएको धेरै दिन भएको छैन । मधेश र मधेशीलाई सधै अवहेलनाको दृष्टीले हेर्दै आएको नेकपा एमालेको कार्यक्रमको बिरोधमा उत्रिएका युवा नेपाली सुरक्षाकर्मीको गोलीले मृत्युवरण गर्न बाध्य भए ।
त्यसबेला शायद यस्तो नेपाली एकता देखिएन । प्रधानमन्त्री, मन्त्रीगण र संसदको गंभिरता समेत सबैलाई सम्झना होला । शायद घाइतेहरूको थर पनि सर्वोपरी भएर होला यसबेला कंचनपुर र त्यसबेला सप्तरी घटनामा भिन्नता खोज्न धेरै समय लागेन ।
घटना दुबै फरक छन । कंचनपुरमा नेपाल एक भयो र हामीभन्दा धेरै शक्तिशाली देशका प्रधानमन्त्रीले बाध्यताबस सहि दुख ब्यक्त गरे । यहाँ नेपाल एक भयो र त हामीले जित्यौ । तर सप्तरीकै राजनीतिक सवालमा ज्यान गुमाएका नेपालीलाई हामीले भुगोलका आधारमा विभेद गर्यौ । उसको मनोबल बढ्यो । त्यसैले उसले मधेशका मुद्दालाई आफ्नो भन्दै आफु अनुकुलका रणनीति लाददै छ ।
यस अर्थ हामी भुगोलका आधारमा होईन, एकतामा बिश्वास नगरे, हामीले जातका आधारमा नभई सम्रगतालाई बिचार नठाने हामी प्यादाहरुका चालका गोटी भै रहने छौ । र हाम्रो रगत कतै भारतीय बन्दुकबाट र कतै नेपाली बन्दुकबाट बगिरहने छ ।
त्यसैले सप्तरीदेखि टाढा छैन कंचनपुर याद राखौं । मनन गरौ हाम्रो एकता हाम्रो शक्ति हो । बाँकी त हामी बिचारमा बिवाद गर्न सक्छौ । विभेद विरुद्ध लडन सक्छौ । र त सम्भव हुनेछ हामीले खोजेको सम्मुनत नेपाल । समग्र नेपाल ।
र हामी संयौं थुँगा फुललाई एउटै माला बनाउन भारतीय हस्तक्षेप र ज्यादती नै चाहिने हो त ? होइन भने त हाम्रा भुगोलका मागलाई हाम्रो सामुहिक प्रयास आजका अनिबार्यता हुनुपर्नेमा हामी आफु आफुमा बिभक्त किन भै रहेको छौ ।
अब यस्ता राष्ट्रिय मुद्दामा, राष्ट्रिय शोकमा र राष्ट्रिय बिरोधमा नयाँ सोच र नयाँ पक्ति खुलेर अघि आउन जरुरी छ । अनिमात्र जर्जर भै सकेको बिचार ढलनेछन । मर्नेछन शक्तिका आडम्बरी शाखहरु । र बन्ने छ एकताको प्रतिक हाम्रो बिशाल हिमाल, पहाड र मधेशको देश । हाम्रो देश नेपाल ।
जय मधेश, जय नेपाल