आफ्नो देश बनाउन नपाउदै र बनेको हेर्न नपाउदै म मर्ने थिए होला !
– डा. सचिन गौरव
(आफ्नो भावनालाई जस्ताको त्यस्तै प्रस्तुत गर्न खोजेको छु, कृपया यसलाई राजनीतिक मुद्दा नबनाई दिनु होला ! )
मेरो घर जनकपुर, कदम चौक नजिकै पर्छ I
Human Right Watch ले प्रकासित गरेको रिपोर्ट मैले पढें I पहिलो चोटी मा विश्वास लागेन र २-३ पटक पुनः पढे, सारा प्रमाणहरुको छानबिन गरेर लेखीएको रहेछ, घटनाहरु मेरो कल्पना भन्दा बाहिरको लागे, तर पनि यथार्थलाई मान्नै पर्यो I
जनकपुरको घटनाहरुको ब्याख्याहरु पनि पढे, नेपाल प्रहरीबाट जनकपुरमा पहिलो गोलि कदम चौक मै चलेको रहेछ I म बुझ्न त सक्छु त्यो गोलिको आवाजले मेरा आफन्त र परिवारहरु कति आतंकित भए होलान तर प्रत्यक्ष अनुभव गर्न त पक्कै पनि सकिन I लाखौ विदेशिएका युवाहरु जस्तै, म पनी आफ्नो प्यारो ठाउँ छोडेर अनेत्र जानु परेको छ I त्रशित भएर बसेका मेरा परिवार माझ आफु नहुनुमा धेरै दुख लगेर आएको थियो I मेरो दिमागमा डरलाग्दा कल्पनाहरुले घर बनाउन सुरु गर्यो र त्यसले मेरो मन बेचैन बनाउन थालिसकेको थियोI
यो रिपोर्टमा जति घटनालाई चित्रण गरिएको छ, एक पछि अर्को घटना पढ्दै जादा मेरो मन झन्-झन् शोकाकुल हुदै गई रा’थ्यो I टिकापुरको घटना होस् वा बिरगंज, कलैया, महोत्तरी वा जनकपुरको घटना होस् हरेकले मेरो मन मस्तिष्कमा ठुलो झट्का हानेको थियो I आफ्नै देशको एक नागरिक बाट अर्को नागरिक मारिएको, त्यो पनि त्यस्तो अमानवीय ढङ्गले, मेरो मनले स्वीकार्नै तयार थिएन I एक-एक घटनाको मेरो दिमागमा काल्पनिक तस्बिर घुम्दै थियो, चाहेर पनि बिर्सिन सकी रा’थिईन, मन लाई एउटा अजीबको बेचैनी ले घेर्न थालेको थियो I
सब भन्दा बेचैनी त एउटा कल्पनाले दिन थाल्यो I रिपोर्टको अनुसार कति ठाउमा घर मै बसेकोलाई पनि घरभित्रै गोलि लागेको रहेछI जनकपुर कदम चौक नजिक मेरो घर छ, त्यहाँ पनि गोलि चलेको कुरा रिपोर्टमा स्पस्ट उल्लेख छ I त्यो गोलि हामी मध्ये कसैलाई पनी लाग्न सक्थ्यो I दिमागै त हो, कल्पना, अरुको बारेमा आएको कल्पनालाई त म प्रतिरोध गरेरै भए पनि रोके, त्यो असहय हुन्थ्यो मेरो लागि I पछि दिमागले मेरै बारेमा कल्पना गर्न थाल्यो, यदि त्यो दिन म घर मै भएको भए र त्यो गोलि मलाई नै लागेको भए….
हुन त के नै हुन्थ्यो र, मृत्यु नै त हुन्थ्यो होला, त्यो कुन ठुलो कुरा हो, आखिर एक दिन त मर्नै छ सबैलाई I यहाँ सधै भरी कोहि बाचिरहन सक्दैन, मृत्यु मात्र एउटा शाश्वत यथार्थ होI जीवन को यो शाश्वत यथार्थ बाट को नै भाग्न सकेको छ र, त्यै भएर मलाई आफ्नो मृत्यु को कल्पना ले खासै डर दिएको थिएन ; मेरो बेचैनी को कारण त अर्कै थियो I
हरेक मानव ले केहि न केहि सपना बोकेको हुन्छ, मेरा पनि केहि छन् I केहि आफ्नो लागि, केहि परिवारको लागि, केहि देशको लागि र केहि यो मानव सभ्यताको लागि पनि I हुन त पुरै मानव सभ्यता कै लागि पनि केहि गर्न सक्ने म भैसकेको छैन तर भनिन्छ नि थोपा-थोपाले समुद्र बन्छ I यसो हेर्दा समुद्रको अगाडी १-२ थोपा पानीको त केहि महत्व छैन, तर म त्यो १-२ थोपा पानीको भूमिका निर्वाह गर्न सके पनि आफु लाई भाग्यमानी नै ठान्नेछु I सुफी कवि रुमीले भनेका थिए, “तपाईं समुन्द्रमा एक थोपा, तपाई आफै एक थोपामा समुन्द्र हो”I
हो, यी सपनाहरु पुरा भएको हेर्न नपाउदै म मर्ने थिए होला, त्यो कल्पना ले मलाई पिरोलेको थियो I
. . . . .
“एकचोटी ती युवाका मधेस झैं फैलिएको छातिमा हेर्नु
एकचोटी ती युवाका पहाड झैं अटल पाखुरामा हेर्नु
एकचोटी ती युवाका हिमाल झैं ठडिएको शिरविन्दुमा हेर्नु
हेर्नु तिनका यात्रामा लम्किएका पाइलालाई हेर्नु
हेर्नु तिनका संमवेदनाले भरिएको मुटुलाई हेर्नु
हेर्नु तिनका आँखामा उदाएको नेपाललाई हेर्नु
अनि भन्नु मलाई
मधेसमा गुराँस र पहाडमा गुलमोहर
फुल्छ कि फुल्दैन ?
अनि भन्नु मलाई
यो देश हाम्रै जीवनकालमा
बन्छ कि बन्दैन ?“
रबिन्द्र मिश्रको यो कविताले मेरो मन छोएको थियो। भनिन्छ, “आवस्यकता आविष्कारको जननी हो”, हाम्रो नया युवा पुस्ताले अब त्यो आवश्कता महसुस गर्दै छन्, यो देश बनाउने जिम्मा आफ्नो काँधमा पनि छ भन्ने कुरा को भाव जाग्दैछ। म आफु पनि एउटा युवा भएकोले त्यो भावना म मा पनि जागेको छ।
अस्तिको भुकम्प र अहिलेको राजनीतिक परिस्थिति हेरेर कति भन्छन देश बर्बाद भयो, तर म भन्छु, देश बल्ल बन्दै छ। सुतेका नेपाली जनताहरु बल्ल जागेको छ, नेपाली युवाहरु बल्ल बिउझिदै छन्।
आफ्नो कर्मठ हात, दृढ पाइला र अटल मनले हामी युवा पुस्ता यो देश बनाउने छौ। आखिर अहिलेका विश्वमा नमुना बनेका समृद्ध राष्ट्रहरु पनि बिकट परिस्थितिको सामना गरेरै त्यहाँ सम्म पुग्यो, हामी पनि पुग्ने छौ; हामी पनि विश्वको एउटा नमुना राष्ट्र बनाउने छौ र हाम्रै जीवन कालमा बनाउछौं। यै भावनाले ओतप्रोत हुन्छ मेरो मन अहिले चौबिसौ घण्टा। तर – आफ्नो देश बनाउन नपाउदै र बनेको हेर्न नपाउदै म मर्ने थिए होला, त्यो कल्पना ले मलाई तर्साएको थियो।
हाम्रो घरको बैठक कोठाको भित्तामा माला लगाएर झून्ड्याईएको हजुरबुवा र हजुरआमाको फोटो सम्झनामा आउन थाल्यो। मेरो फोटो नि त्यसरी नै झून्ड्याईन्थ्यो होला। त्यो फोटो भित्रको मेरो आत्माले त सबैका कुरा सुन्ने थिए होला तर मेरो त्यो आत्माले बोलेको कसैले सुन्ने छैनन होला।
पच्छिलो दिनहरुमा मैले भोगेको केहि घटनाहरुले मेरो आत्मालाई नै छोएको थियो। ति घटनाहरुले कयौ दिन मलाई बेचैन बनाएको थियो तर त्यसको बारेमा मैले कसैलाई भनेको थिइन। ती सबै कुरा मन मै अड्केर बसेको थियो। हो, ती मनमा अड्केका कुराहरु मेरा आत्माले त्यो फोटोबाट चिच्याएर बोल्दा पनी कसैले सुन्ने छैनन होला, त्यो कल्पनाले मलाई बेचैन बनाउदै थियो।
मनमा अड्केका कुराहरु त धेरै छन्, तर भखरै केहि दिन पहिलेको एउटा घटनाले मलाई धेरै नै असहज बनाएको थियो।
कुरा ३-४ सप्ताह अगाडीको हो। केहि शैक्षिक कामले काठमाडौँ जानु परेको थियो। तराई-मधेशमा भखरै आएको संबिधानको बिरोधमा चर्का-चर्की आन्दोलन चल्दै थियो र त्यसको असर काठमाडौँवासीहरुमा पनि बिस्तारै-बिस्तारै पर्न गईरहेकोथियो। इन्धनको कमिले रोड़मा गाडीहरु कमै गुडेको पाइन्थ्यो, हिड्नै पर्ने स्थिति थियो। काम अलिक जरुरि भएकोले हिडेरै भए पनि, काठमाडौँको एक कुना बाट अर्को कुना पुगिन्थ्यो।
सुन्धाराबाट बसन्तपुर जाने बाटोमा थिए म, बेलुकाको ५-६ बज्दै थियो होला। दिनभरीको हिडाईले थकित म छिटो बासस्थान पुगी आराम गर्ने सोचमा हतार हतार हिड्दै थिए। “यै धोतिहरुको कारण देश बर्बाद हुदै छ, देशद्रोहीहरु” – पछाडीबाट आएको यो आवाजले मेरो पाइला स्थील भयो, तर म रुकिन हिड्दै थिए, अरुको कुरामा मैले किन चासो लिनु। “हो नि, नेपाललाई बर्बादै बनायो यी बिहारीहरु ले, देशद्रोही ” फेरि आवाज आयो, म आफुलाई रोक्न सकिन, पछाडी फर्केर हेरे ; ३-४ जनाको समुहमा थिए, भर्खरका ठिटाहरु, हेर्दा भद्र-भलादमी जस्तै। म तिर हेर्दै थिए तिनीहरु, यति त आभास मलाई तुरुन्त भयो, त्यो टिप्पणी प्रत्यक्ष मेरो अगाडी मलाई नभने पनि, त्यो मलाई नै लक्षित गरेर भनिएको रैछ। “धोति” शब्दलाई त म खासै गम्भीरताले लिइन, तर “बिहारी” ??? “देशद्रोही” ???? मेरो जिउ नै चिसो भयो!
मेरो मुटु, मेरो दिमाग, मेरो सांस, मेरो सोच-विचार सबै केहि समयको लागि सुन्य भयो, सायद मेरो शरीरका कोसीकाहरुले पनि सांस फेर्न सकेनन होला त्यो क्षणमा।
आफु त महात्मा गान्धीको अनुयायी, झगडा गर्ने त मेरो सिद्धान्तको बिपरित, त्यो गर्ने कुरै भएन। नजिक गएर , “म ‘बिहारी’ होइन तपाई जतिकै ‘नेपाली’ हु, र तपाई जतिकै ‘देशभक्त’ पनि हु” ; भन्ने सोच आयो तर त्यो धेरै उपलब्धि मुलक हुन्छ जस्तो लागेन। पुलिस चौकीमा गएर गुनासो गरौ भने, के भनेर गरौ, आफु “बिहारी” जस्तो देखिएको उजुरी गरौ कि तिनीहरुले म लाई “बिहारी” भनेको उजुरी गरौ? — झट्टै ठम्याउनै सकिन म के गरूँ; अचानक मैले मेरो सबै सुन्य परेको अंगहरु चलेको महसुस गरे, मेरो दिमाग र मेरा सोच-विचारले पनि केहि विशेष गतिबिधि गरेको अनुभब भयो, सायद ‘स्क्यान‘ (scan) गर्दै थिए मस्तिष्कका पुराना ‘फाइल‘हरु, मेरा अवचेतन मन(subconscious mind)ले। एउटा अजिब मुस्कान आयो मेरो अनुहारमा, त्यै मुस्कानका साथ म त्यहाँबाट हिडे।
मेरो आफ्नै सचेत मन (conscious mind) ले बुझ्न सकेको थिएन त्यो कस्तो मुस्कान थियो, फेरी समय अनुकुल पनि त थिएन, म त गम्भीर हुनु पर्ने क्रोधित हुनु पर्ने, त्यस्तो परिस्थितिमा मुस्कान? कस्तो अनौठो। सायद ती ठिटाहरुको दिमागमा पनि त्यै चल्दै थियो होला। मेरो अनुहारमा मुस्कान हेर्दा तिनीहरुको अनुहारमा मैले त्यो प्रश्न महसुस गरेको थिएँ।
म बिस्तारै हिड्दै थिए, मन-मस्तिष्कमा ज्वारभाटा नै चल्दैथ्यो, मेरो अवचेतन मन (subconscious mind) ले स्क्यान गरेका फाईलहरु सचेत मन (conscious mind)लाई पठाउदै थिए, सायद।
यसो सम्झिदा तिनीहरुमा त त्यस्तो कुनै रोचक कुरा भेटिन, तर एउटा कुराले मलाई छोएको थियो , तिनीहरु मध्ये एक जना बसेको ‘pulser’ बाइकको सीसामा नेपालको झन्डाको स्टिकर टासेको थियो।
राष्ट्र प्रतिको प्रेम व्यक्त गर्ने सबैको आफ्नो -आफ्नो तरीका हुन्छ, कसैले आफ्नो सर-समान जस्तै ल्यापटप, मोबाइल वा गाडीमा देशको झन्डा टासछन्, त कसैले जिउ मै झन्डाको ‘ट्याट्टू’ (tattoo) बनाउ छन, त कसैले मन-मस्तिष्कमा ‘ट्याट्टू’ (tattoo) बनाऊछन्, अगाडीका दुई तरिका अपनाउनेहरु लाई त जो कोईले पनि ठम्याउन सक्छ तर पछिल्लो तरिका अपनाउनेहरुमा रहेको राष्ट्र प्रेमलाई सबैले ठम्याउन सक्दैनन। म त परे पछिल्लो तरिका अपनाउने।
मैले आफ्नो तनमा देशको झन्डा नबनाए पनि मेरो हृदयमा, मेरो मन-मस्तिष्कमा, मैले लिने हरेक सांसमा, मेरो अंगहरुको हरेक कोशीकामा, मेरो मस्तिष्कको हरेक तरंगमा नेपाल छ र नेपालीपन छ।
तिमि भन्छौ म “देशद्रोही” हो; तर म भन्छु, “मेरो तन, मेरो वर्ण, मेरो रुपमा तिम्रो आँखाले नेपालीपन नदेखेपनि, म भित्र को मेरो मन-मस्तिष्क र मेरो आत्मामा कति नेपालीपन छ; कति नेपाल र नेपाली प्रतिको प्रेम छ, तिमिलाई के था?“
हो, मेरो त्यो मुस्कान ले सायद त्यै भाव व्यक्त गरेको थियो।
अस्तिको भुकम्प जादा जुन पहाडमा त्यत्रो जन-धनको क्षति भयो, टिभीमा त्यसको दृश्य हेर्दा मेरो मन कति विह्वल भएको थियो। भावनालाई रोक्न नसकेर आँसु झार्दै भक्कानो पारेर म रोएको थिएँ; त्यो क्षण अहिले सम्झिदा पनि आँसु झर्छ मेरो।
अस्त व्यस्त भएको पहाडका गाउँ र ती बस्तिहरु देखेर, त्यहाँका दाजु-भाई, बुवा-आमा, दिदि-बहिनिहरुको स्थिति हेरेर मेरो मन कस्तो बेचैन भएको थियो। आफु एउटा चिकित्सक भएको नाताले ती क्षतिग्रस्त क्षेत्रका कुनै ठाऊँमा गएर त्यहाका भुकम्प पिडीतहरुलाई उपचारमा सहयोग गर्न जाऊ भनि योजना पनि बनाए, तर तुरुन्त पुग्ने कुनै उपाय भेटिन।
ती क्षतिग्रस्त ठाउहरुमा तुरुन्त पुग्न नसकेर मेरो मन कस्तो बेचैन भएको थियो। टिभीमा बारम्बार देखाईएको हृदयविदारक त्यो दृश्य हेरेर म सान्त भएर बस्नै सकेको थिइन। धेर-थोर जे जति भए पनि मैले सक्ने केई गर्नैपर्छ, आफ्नै देशका ती आत्मीय जनताहरुलाई बिपत परेको बेला म चैनले कसरी बस्न सक्छु र, भन्ने भावनाले मलाई बारम्बार प्रश्न गर्दैथ्यो।
फोटोग्राफीमा मेरो विशेष अभिरुचि भएर होला, नेपालका गाउँ-घर देखि लिएर, पहाडका कुना काप्चा देखि लिएर काठमाडौँका ती पौराणिक महलहरु, सबैले मेरो मन-मस्तिष्कमा ठुलो ठाऊँ ओगटेको थियो। हो, सायद त्यै भएर होला ती सबै क्षतिग्रस्त भएको हेर्दा मेरो मन त्यति बेचैन भएको थियो। मेरो फोटोग्राफी को त्यै विशेष अभिरुचिले त्यति बेला मेरो मनमा मल्हम लगाउने काम गर्यो।
केहि बर्ष देखि सामाजिक संजाल (instagram) मा नेपाल लाई प्रतिनिधित्व गर्ने एउटा फोटोग्राफी सम्बन्धि गैर नाफा मुलक संस्था म चलाउदै आको थिए। इटाली, रोमका केहि फोटोग्राफर र इन्जिनियरहरु मिलेर विश्वका सबै देशका फोटोग्राफरहरुलाई सम्बद्ध गर्नेगरी एउटा संस्था खोलेको छ। विभिन्न देशबाट लगभग २५० संस्थाहरु सम्बद्ध छन त्यो संस्था संग। नेपाललाई प्रतिनिधित्व गर्ने मैले चलाउने संस्था पनि उहाहरु कै संस्था संग सम्बद्ध छ। मैले त्यै संस्थालाई आफ्नो देश र देशवासीको परिस्थिति व्यक्तगर्दै एउटा ई-मेल लेखे, केहि सहयोग को आशमा।
म आफै लाखौ-करोडौ तिरेर आर्थिक सहयोग गर्नसक्ने जस्तो धनाड्य परिवारको त छुइन, तर कतैबाट भएपनि त्यो आर्थिक सहयोग दिलाउन सके त्यो मेरो लागि ठुलो उपलब्धि हुनेछ जस्तो लागेर मैले त्यो ई-मेल लेखेको थिएँ। मैले पठाएको ई-मेल पढेर उहाहरु यति भावुक भएकि, पठाएको केहि मिनेट मै जवाफ आयो “हामी हजुरको देश र देशवासीले भोग्नु परेको यो विषम परिस्थितिको जानकारी पाएर अत्यन्तै मर्माहत भएका छौं, कृपया भन्नुस हामी कसरी मद्दत गर्न सक्छौं?”
यो जवाब पाए पछि मेरो मनमा एउटा आश जागेर आयो। उहाहरुको त्यो मद्दतलाई म कसरि उपयोग गरौ भन्ने बारे सोच्न थाले। म आफै इन्टरनेटबाट आर्थिक संकलन (fundraising ) सुरु गरेर उहाहरुलाई त्यसमै मद्दत गर्न आह्वान गरौ, कि त्यसको पुरै जिम्मा उहाहरुलाई नै सुम्पि दिऊ। फेरि त्यसो गर्दा त्यो जम्मा भएको रकम सम्बन्धित निकाय हुदै पिडित सम्म पुग्न केहि समय लग्न सक्थ्यो, तर मलाई त परिणाम तुरुन्त चाहिएको थियो।
मैले, प्राकृतिक बिपतमा सहयोग गर्ने NGOहरुको websiteहरु खोलेर हेरे, उनीहरुले आफ्नो सेवा नरुकी निरन्तर चलाई राख्नका निमित्त आर्थिक सहयोगका लागी अपिल गरेका थिए। मैले सोचे, यदि ती संस्थाहरुको नेपाल शाखाका कोषमा सिधा पैसा पुग्यो भने उहाहरुले आफ्नो सेवा नरोकी निरन्तरता दिन सक्ने छन्।
त्यै कुरा लेखेर उहाहरुलाई फेरी इमेल गरे, र उहाहरुले तुरुन्त पाच ओटा संस्था (wateraid, save the children, UNESCO, UNICEF, International federation of red cross)मा प्रत्यक्ष आर्थिक सहयोग गर्नका निमित्त, एउटा अभियान सुरु गर्नु भयो र त्यो अभियानमा सहयोग गर्नका लागी आफु संग सम्बद्ध सबै देशका संस्थाहरु संग अपिल पनि गर्नु भयो। केहि मिनेट मै त्यो अभियान भाईरल भयो। “हामीले यति दान गर्यौं, हामी के र कसरी अरु सहयोग गर्न सक्छौं, कृपया भन्नुस” जस्ता प्रतिक्रिया धमा-धम मेरो इमेलमा आउन थाले। मैले यो भन्नै पर्छ, त्यत्रो सहयोगको अपेक्षा मैले गरेको थिईन।
त्यो प्रतिक्रियाहरु देखेपछि आफुले थोरै भए पनि आफ्नो देश र जनताको त्यो बिपतको घडीमा केहि सहयोग गरेको अनुभूति भयो, र थोरै भएपनि चैन को सांस लिएको थिएँ। मनमा पिडा यति थियो कि खुशी त आउनै सकेन, अलिकति आत्म-सन्तुस्टी को आभाष चाही भएको थियो, ओठ तन्किने गरी नभएपनि भावात्मक मुस्कान चै आएकै थियो।
काठमाडौँका ती ठिटाहरुलाई दिएको त्यो मुस्कानमा सायद यो मुस्कान पनि थियो।
मेरो हजुरबुवा धोति-लंगोट मात्र लगाएरै भए पनि एका बिहान देखि अबेर बेलका सम्म आफ्नो खेत-खेत चहार्नु हुन्थ्यो, बाली-नाली को रेख-देखमा। हुनत मेरो हजुर बुवा खेतमा पाइला न टेके पनि हुन्थ्यो, हाम्रा कामदारहरु कै हातमा खेत-खलियान छोड दिदा पनि हाम्रा परिवारका लागि अन्न झन्डै –झन्डै पुग्थ्यो होला, तर पनि उहा आफ्नो कामदार संगै खेतमा होमिनु हुन्थ्यो। उहाको संतुष्टि आफ्नो परिवारको खुशीमा मात्र सिमित थिएन, अरुको चिन्ता पनि हुन्थ्यो उहालाई। आफ्नो मुखमा मात्र होइन कि सबैको मुखमा अन्न पुगोस भन्ने सोच थियो उहाको।
उहाले जहिले मलाई संत कबीर जी को एउटा उक्ति सुनाउनु हुन्थ्यो, “साँई इतना दीजिए जामें कुटुंब समाय। मैं भी भूखा ना रहूँ साधु न भुखा जाय॥” अर्थात् उहा आफ्नो भुखको लागि मात्र होइन अर्काको भुखको लागि पनि चिन्तित हुनुहुन्थ्यो। महिनौ परिश्रमबाट उब्जेका ति अन्नहरु न्यून मूल्यमा ब्यापारीहरुलाई बेचदिनु हुन्थ्यो। त्यो अन्न नेपालका अन्य भूभागको साथ् – साथ काठमाडौँ पनि पुग्थ्यो होला।
के था‘, काठमाडौँका ती ठिटाहरुको त्यो शरीरमा मेरो हजुरबुवाले उब्जाएका अन्नका अंश पनि छ होला। तिनीहरुले त्यो कुरा नबुझे पनि मेरो मनले त्यो महसुस गरेको थियो।सायद, मेरो त्यो मुस्कानले यो भाव पनि व्यक्त गरेको थियो।
पेशाले म एउटा चिकित्सक हु, म मधेशको एउटा दुर्गममा पर्ने गाउँमा जन्मे र हुर्के। म अहिले पहाडको एउटा दुर्गममा पर्ने ठाउँको अस्पतालमा कार्यरत छु। एउटा चिकित्सकको नाताले म कहिल्यै कुनै जात, धर्म, समुदायलाई प्राथमिकता दिईन, मानवता भन्दा माथि केई पनि होइन जस्तो लाग्छ मलाई, र त्यो नै सत्य पनि हो। त्यै भएर होला म मधेशमा जन्मे र हुर्केको भए पनि एउटा पहाडी समुदायमा आफ्नो सेवा दिदै छु, र सो गर्दा मलाई खुशी पनि लाग्छ र आफु माथि गर्व पनि हुन्छ। म त्यस्तो सोच राखेकोमा ‘गुमान’ गरेको पनि होइन, एउटा चिकित्सकले यस्तो सोच राख्नु सामान्य कुरा नै हो। तर, मान्छेले जति उदार सोच-विचार बोके पनि यदि उसको अस्तित्व, उसको परिचय माथि कसैले प्रहार गर्छ वा प्रश्न उठाउछ भने उस भित्रको मानव बिचलित हुनु, आक्रोशित हुनु पनि स्वाभाविक नै हो जस्तो लाग्छ मलाई।
हुनत, मैले आफ्नो पुर्खौली परिचय जन्मिदै गुमाएको थिए, न्वारन कै दिन, जब मेरो बुवाले मेरो नामको पछाडी आफ्नो थर ‘मण्डल’ नराखी ‘गौरब’ राख्दिनु भएको थियो।
म बच्चा हुदा सम्म त यो नाम ले मलाई केहि फरक पारेन तर, जब ठुलो भए साथीहरु सोदथे “तिम्रो थर कस्तो अनौठो, जात कुन हो तिम्रो?”, म अकमकिन्थे, हाम्रो जातमा यो थर पनि चल्छ भनेर झुठो बोल दिन्थे।
जात-धर्मलाई त्यति प्राथमिकता नदिने भएकोले मैले आफ्नो परिवर्तित थरलाई गम्भीरताको साथ लिइन, बिना प्रतिरोध स्वीकारे, बुवाको इक्क्षाको सम्मान गर्दै। म सोच्थे, देश र समाजलाई सेवा गर्न एउटा मानव कै परिचय काफी छ, मेरो अरु परिचय किन चाहियो र?
तर केहि वर्ष पहिले मात्र मैले थाहा पाए त्यो मेरो बुवाको इक्षा न भइ, बाध्यता थियो। उति खेर, उहा आफु मधेशी हुनुमा यति लज्जित महसुश गर्नु भएको थियो कि आफ्नो सन्तानका नाममा थर परिवर्तन गरेरै भएपनि त्यो लज्जा बाट हामीलाई जोगाउने कोसिस गर्नु भएको रहेछ। मधेशी झल्किने थरको कारण जुन पिडा उहाले भोग्नु परेको थियो त्यो पिडा हामीले भोग्नु नपरोस, भनेर त्यसो गर्नु भएको रहेछ ।
यो त उतिखेर को परिस्थिति थियो होला, अहिले अलिक फरक छ।
मेरो थर जे भएनी, एउटा नेपाली को परिचय नै मेरो लागि काफी छ।
पिडा मेरो बुवाले वा मैले मात्र भोगेको भन्न खोजेको होइन, कतै न कतै पिडित त यहाँ सबै छन, कोइ देशको व्यवस्था बाट त कोइ यो समाजको व्यवस्था बाट त कोइ आफ्नै घर-परिवार कै संकुचित मूल्य-मान्यता बाट त कोइ स्वयं आफ्नै संकीर्ण सोच बाट। पिडित त हामी सबै छौ, मात्र पिडा फरक छ; घाउ त हामी सबैको मनमा छ, मात्र घाउ फरक छ। हामीले एक अर्काको त्यो घाउलाई हेर्न सकनु पर्यो, एक ले अर्काको घाउमा मल्हम लगाउन सकनु पर्यो। अनि त छियाछिया परेको नेपाल आमाका ती छातीले केहि भए पनि राहत पाउने छन, किन कि आमा को पिडा त सन्तान कै पिडा संग गासिएको हुन्छ ।
मैले सबैको घाउलाई महसुस नगरे पनि यो यथार्थलाई बुझेको छु। म त अचेल अर्काको तन र मन दुवैको घाउमा आफु-सक्दो मल्हम लगाउने कोसिस गर्दै छु। आफ्नो मनमा घाउ रहेपनि, मेरो नेपाल आमाको छातीको त्यो पिडालाई थोडै भएपनि घटाउन सके मेरो जीवन धन्य हुने छ।
सायद, अब म मरे पनि मेरो आत्मा ले थोरै शान्ति पाउने छ होला….
(यो लेख लेख्नु भन्दा पहिले म ठुलो दुबिधामा परेको थिए। म विवादमा पो आउने हो कि, डाक्टर भएर यस्तो कुराहरु लेख्छन भनेर। फेरि सोचे, एऊटै परिवारका सदस्य त एक अर्काका विवादमा पर्छन; एक अर्का को आरोप मा पर्छन। कुनै न कुनै दिन दाई-दिदि, भाई-बहिनी; बुवा-आम, छोरा-छोरी एक अर्का को नजर मा विवाद मा पर्छन नै क्या रे। आखरि ति काठमाडौँ का ठिटाहरु पनि त मेरा दाई-भाई त हुन् नि, उनीहरुले मलाई चिन्न पो न सकेको। नेपाल आमाका सन्तान हामी दाई-भाई त पर्यौ नि, न चिने पनि; आफ्नै दाई-भाई ,दिदि-बहिनी का गुनासा – आरोप आए पनि के ठुलो कुरा भो र, त्यस लाई सहृदय स्वीकार्ने छु। )
(*यो मेरो पहिलो लेख हो, अतः मिश्रित र अशुद्ध भाषा को लागि क्षमा गर्नु होला।)
_____________________
डा. सचिन गौरब, जनकपुर
Twitter : @sachingaurav
Instagram : gaurav48
Note: This article will be available on Dr. Sachin’s wordpress link.