असोज तीन, कालो दिन

  मनोज साह
मनोज साह

संविधान दिवसको महत्व:

वर्षमा एक चोटी असोज ३ आउने गर्छ | समयको यात्रा हो, मिति दोहोरिइरहन्छ | अनेकौ बलिदानी र अथक प्रयास पश्चात संविधानसभा मार्फत संविधानको घोषणा भएकोले यो मिति नेपालको एतिहासिक कालवृक्षमा दर्ज हुन पुगेको हो | संविधान मूलतः राष्ट्रलाई एक रुप, एक सुत्र, एक अनुशासनमा बाधेर सुन्दर र समृद्ध भविष्यको बाटोमा डोर्याउने दस्तावेज पनि हो | संविधानप्राप्तिको निम्ति गरिएको संघर्षलाई सम्झिन, स्वतन्त्रता/मुक्तिको एहसास दिलाउन र अनेकतामा एकताको सन्देश प्रवाह हेतु संविधान दिवस मनाउने विश्वव्यापी चलन छ | असोज ३ यिनै विशेष कारणवशले नेपालको लागि दिवस भएको हुनुपर्छ | असन्तुष्टहरुको राजनैतिक नेतृत्वको सहभागितासंगै तेस्रो चरणको स्थानीय निकायको चुनाव सम्पन्न भए पछि कार्यान्वयनको क्रममा रहेको हालको संविधानले एउटा ठुलो छलांग मारेको छ |  बाकि रहेको दुइवटा चुनाव भए लगतै संविधान कार्यन्वयनको यात्रा पुरा हुनेछ, खासै शंका बाकी रहेन | संविधान मान्ने र संविधान दिवस मनाउनेहरुको लागि यसपालीको असोज ३ खासमखास हुनु स्वाभाविक हो |

 

वास्तविकता:

माथि उल्लेख गरिए झैँ सतही रुपमा नेपालीहरुको लागि संविधान दिवस हर्षोल्लासपूर्ण पर्व सरह हुनुपर्ने हो | तर, वास्तविकता भने फरक छ | यो संविधान यसप्रति असन्तुष्टि राख्नेहरुको रगतले पोतिएको छ | विभेदकारी संविधान भन्दै ठुलो आन्दोलन, दर्जनौ सहिद भएका छन | संविधान घोषणा हुने दिन पनि वीरगन्जमा एकजनाले सहादतको प्राप्ति गरेका थिए | देशको आधा भु-भागमा दिपावली मनाइदै गर्दा आधा भु-भागले ब्ल्याक आउट गरेका थिए | एकछिन कल्पना गर्नुहोस, विमानबाट त्यों सन्ध्या अवलोकन गर्दा कस्तो दृश्य देखिन्थे होला ! एउटै देश आधा झम्मक उज्यालोले सजेको छ, अनि आधा देश अंधकारमय छ ! संयोग भनौ वा बिडम्वना राष्ट्रपतिले संविधान ढोग्दै गर्दा उहाँको घरमा एउटा मैन बत्ति पनि बालिएन | संसोधन फेल भएको अहिलेको अवस्थामा यो सिलसिला कहिलेसम्म जारी रहन्छ, अहिले अनुमान लगाउन कठिन छ |

सिद्धान्तत: सम्पूर्ण देशवासीको निम्ति दीपावली हुनुपर्ने असोज तीन व्यवहारमा कसरि मुलुकको एउटा भू-भागको लागि कालो दिनमा परिणत भए | एउटा देशप्रेमी नागरिकको लागि सोचनीय प्रश्न एवम द्विविधा हो |

मधेस आन्दोलन प्रतिको वेवास्ता:

२०४७ सालको कालखण्ड पश्चात नेपालमा माओवादी जनयुद्ध एउटा विकराल समस्याको रुपमा अगाडी आयो | १२ बुंदे मार्फत माओवादीको अवतरण भयो | ६२-६३को  जन-आन्दोलन पछि जारि गरिएको अन्तरिम संविधानमा संघियता समावेश नभए पछि वर्षौ देखि आन्तरिक उपनिवेश झेल्दै आएको मधेसमा दुइ वटा ठूलाठूला आन्दोलनहरु भए | क्रमशः २२ बुंदे र ८ बुंदे सम्झौता गरियो | समकालीन इतिहासमा पहिलो संविधानसभा पछिको समय स्वर्णिम थियो, मधेसीहरुको लागि | पहिलो संविधानसभाको विघटनसँगै मधेसीले चाहेको जस्तो संविधान प्रधानन्यायाधीशको नेतृत्वमा गठित सरकारले गराएको दोस्रो संविधानसभाको चुनाव मार्फत सम्भव हुने कुरै थिएन | प्रतिगमनको आगमन भइसकेको थियो | मुलुकको दुरगामी र वृहत हितको लागि माओवादी समस्या र मधेसको समस्या समानान्तर रुपमा समाधान गर्दै लैजानुपर्ने आवाश्यकता थियो | तर, जसोतसो माओवादी समस्यालाई समाधान उन्मुख लिएर गए पनि मधेसको समस्यालाइ बगरमा धकेलियो | राज्य आफैले गरेको सम्झौता पालना गर्ने न्युनतम नैतिकता सम्म देखाउन सकेन | नेपालको स्थायी राज्य सत्ताले कुनैपनि हालतमा मधेसीको नसुन्ने भनी गरिने आशंकालाई १६ बुँदेले सत्य सावित गर्यो | प्रतिगमनको जगलाई १६ बुंदे मार्फत स्थापित गरियो |

प्राकृतिक प्रकोपको मौका छोपी संविधान केका र कसको लागि चाहिने भन्दा पनि संविधान मात्र चाहिने उद्देश्यले सुरमा सुर मिलाउदै मैराथन दौड़लाई सय मिटरको दौड़मा परिणत गरियो |

संविधानका डिजाइनरहरुले विश्वको उत्कृष्ट संविधान भएको दावा गरेको भोलिपल्टनै संशोधन दर्ता गर्नुपर्यो | टेस्ट ड्राइभ हुनुभन्दा अगावै खराबी देखिनुमा ती महान राष्ट्रवादी डिजाइनरहरु आफुलाई कतिको जिम्मेवार ठान्छन त्यो छताछुल्ल छ |

राजतन्त्र फालेको ६२-६३को जन-आन्दोलन, गणतन्त्र स्थापित गरेको माओवादी जनयुद्ध र संघीयता सुनिश्चित गरेको मधेशआन्दोलन मध्ये संविधानको प्रस्तावनामा मधेश आन्दोलन मात्र कसरि/किन अटाएन ? अन्तरिम संविधान भन्दा पनि पछाडि फर्किनुपर्ने के कारण थियो ? लोकतन्त्रको मूल मानिने समावेशिताको सिद्धान्तमा कसरि चुक भयो ? बिगतका सहमति-सम्झौताहरु एवम जनादेशद्वारा निर्देशित मुद्दाहरुबाट पछाडि हट्नुपर्ने के कारण थियो ? यो संविधान केवल खस आर्यहरुको लागि बनाइएको सन्देश दिने गरि राज्य सत्तामा हालीमुहाली रहेको एक जाती विशेषको परिभाषा मात्र किन उल्लेख गर्नु पर्यो?  यी र यस्ता यावत प्रश्नहरु अहिले पनि अन्नुतरित नै छन |

तेस्रो मधेशआन्दोलन:

समथर भागमा आगो बल्यो, आंदोलनको शंखनाद फुकियो | एक युगमा एक चोटी लेखिने संविधानमा आफ्नो हक़ र अधिकार सुनिश्चित हुने अवस्था नदेखे पछि मधेश आंदोलनमा होमिए | खास गरेर राजनैतिक रुपमा सचेत भइसकेका मधेसी युवाहरू स्वतः स्फूर्त रूपमा ‘अभी नही तो कभी नही’ भन्दै लामै संघर्ष गर्ने आंट सहित आंदोलनको मैदानमा उत्रिए | मधेशवादी दलहरुले ‘आर वा पार’ को नारा दिदै गर्दा आंदोलनले आफ्नो आधार खड़ा गरिसकेका थिए |

कुनै पनि आन्दोलनमा आंदोलनकारी नमारिएको पछिल्लो इतिहास नभएको हाम्रो देशमा भारदह बाट मान्छे मर्ने श्रृंखलाको सुरुवात भयो | कैलाली घटना सम्म आइपुग्दा दोस्रो दर्जे, काले, माखे आंदोलनकारी मर्दा सामान्य रूपमै लिइएको थियो | टिकापुरको घटनाले पहिले देखिनै आफन्त मरेको शोकमा डुबेको मधेश सहित प्रथम पटक काठमांडूलाई घच्घचायो | ठुला ठुला बयान वाजी गरिए | दक्षिण-पश्चिमको कुरा देखि लिएर आतंककारी सम्मको बिल्ला भिड़ाईए | निश्चय पनि कैलालिको घटना होस या महोत्तरीको यसले आन्दोलनलाई कमजोर र बदनाम गराउन बाहेक केहि गरेन |

दोषीलाई प्रचलित कानुन बमोजिम न्यायिक कठघरामा उभ्याउनुको साटो बदलाको भावनामा चुलिएको प्रहरी प्रशासनले भटाभट “हवाई फायर” गर्न थाले | बीरगंज, जनकपुर, जलेश्वरमा एकमुष्ट मान्छेहरु जमिनमा ढले | राज्यले जनतासँगको अघोषित युद्धमा आतंकवादिको बिल्ला भिड़ाउड़ै वृद्ध, महिला, बालकको भेद नराखी गोली बरसाए | पुलिस प्रशासनको काम शांतिसुरक्षा प्रदान गर्नु हो, आतंक मच्चाउने हैन | जनतालाइ नै मारेर कुन जनताको लागि शांतिसुरक्षा प्रदान गर्दैथिए त्यो बुझीनसक्नु छ |

टीकापुरको लागि दुखेको मुटु फेरी दुखेन | हत्याको एकनाशले निंदा भएन बरु फरक-फरक रुपमा प्रस्तुत गरियो |  मिडियाले प्रहरीको लागि ‘हत्या’ एवं ‘मारिए’ शब्दको चयन गरे भने आन्दोलनकारीको लागि ‘मृत्यु’ |

आफ्नै घरको मानवअधिकार लगायत अन्तरराष्ट्रिय मानवअधिकार संघसंस्थाहरुको रिपोर्ट पढे मात्र आन्दोलनमा भएको ज्याजति बुझ्न काफी छ |

प्रहरी प्रशासनको दमन, आन्दोलनप्रति राज्यको वेवास्ता तथा भु-राजनितिक अवस्थाले निर्मित नाकावन्दीको मुल्यांकन इतिहासले पक्कै पनि गर्नेछ | साथै आफ्नै देशवासीले आधिकारका निम्ति गरेको आन्दोलनलाई जसरि नजरअन्दाज गरियो इतिहास लेखिदा यसको पनि लेखाजोखा हुने नै छ |

लोकतन्त्रको ओडारमा महेन्द्रको भुत रुपी ओलितंत्रको उदयले समाजलाई ध्रुवीकरणको जुन खाडलमा धकेलियो त्यो खाडल कहिलेसम्म पुरिने हो, एउटा संवेदनशील समाजको लागि चिन्ताको विषय हुनुपर्छ |

नेपाली समाज कतिको संवेदनशील भइसकेको छ, त्यो बहसको विषय होला | तर, अहिले देखिएका संकेतहरु भने शुभ चाही पक्कै छैन |

संसोधनको अन्तर्य:

हुदाँहुदै मधेसको मुद्दा फगत तत्व रहित संविधान संसोधनमा झरेको थियो | तेस्रो मधेस आन्दोलनको अवसान पश्चात असफलताको चांगमा निस्सासिएर बसेका मधेसआन्दोलनको राजनीतिक नेतृत्व अहिले फेल भएको संसोधन मानेर भए पनि मुलधारसंग जोडिन तयार थिए | असम्वेदनशीलताको र दम्भको पराकाष्ठा नै भन्नु पर्ला यति सम्म गर्न पनि राज्यले  इमान्दारिता देखाएन | घोक्राएर चुनावमा जान बाध्य तुल्याइयो | फेस सेभिंग सम्मको अवसर दिईएन |

संसोधनले मधेसको सम्पूर्ण मागहरुलाई पुरा नगरे पनि यसको सांकेतिक महत्व अत्यधिक थियो | यो राज्यमा हाम्रो पनि कुरा सुनिने रहेछ | यो संविधानले हामीलाइ पनि विस्तारै समावेश गर्दै लिएर जानेछ भन्ने सन्देश संसोधन मार्फत आन्दोलनरत जनताले पाउने थिए | तर, अहिले जे गरे पनि यो राज्यले हाम्रो सुन्दैन भनी घातक सन्देश प्रवाह गरेको छ |

जुन आन्दोलन भएको थियो र सहिदहरु भएका थिए ती संविधानमा अवस्थित विभेदका विरुद्ध लडाईको क्रममा भएका थिए | त्यो विभेद हालसम्म कायम छ | चुनावले संविधानलाइ प्राविधिक रुपमा कार्यन्वयनको बाटोमा पक्कै लिएर जादैछ | तर, चुनावले संविधानको स्वीकार्यता सुनिश्चित गर्दैन | यो संविधान सम्पूर्ण राष्ट्रलाई एउटा डोरीमा बाध्न असफल रहेको छ | यसको दायरा नेपालको सम्पूर्ण जनसमुदायलाई समेट्न सकेको छैन |

कालो दिवस:

मधेस हतास छ, निराशा चुलिएको छ | मनमा तुष बोकेर मधेसी जनता भोट हाल्न गएका हुन् | संयोगले तेसो चरणको चुनाव असोज तीन भन्दा एक दिन अगाडी पर्न गयो | भोट हालेको भोली पल्ट बिहान उठ्दा चुनावको स्वच्छन्दता (Romance) बाकि रहने छैन | सहिदको आत्माले कुर्बानीको हिसाब माग्ने छ | विभेदकारी संविधान कार्यन्वयन हुने चुनावमा सहभागी भएर असोज तीनको दिन मधेसको राजनीतिक नेतृत्वसंग सायद संविधान दिवसलाइ कालो  दिवसको रुपमा मनाउने नैतिक आधार रहने छैन | याद राख्नु पर्ने के हो भने मधेसको मुद्दाले नेतृत्व जन्माएका हुन्, नेतृत्वले मधेस मुद्दा जन्माएका हैनन् | जनता स्वतन्त्र हुन्छन् | सानो तर महत्वपूर्ण तप्काले चुनाव वहिष्कार गरेको अवस्था पनि छ |

संविधान दिवसको शुभकामना । तर, हामीसंग उत्सव मनाउने कुनै ठोस कारण छैन, उत्सव मनाउने प्रति हाम्रो इर्ष्या पनि कदापी छैन। दु;ख त कहाँ लाग्छ भने हामी पनि यसको हिस्सेदार हुनसक्थ्यौ। कुनै चाडपर्वको दिन यदि घर परिवारको कोइ बिते भने पुस्तौसम्म त्यो दिन पुजापाठ नगरिने हाम्रो संस्कृति छ | वर्खीमा शोक मनाइन्छ, दिवस हैन |

मधेसको मुद्दा, मधेसीको आत्मसम्मान र सहिदहरु प्रतिको  उतरदायित्व वहन गर्दै हामी असोज ३ गतेलाई कालो दिवसको रूपमा  लिदै ब्लैक आउट गर्छौ |