दिपेन्द्र झा ले लिएको संकल्पको राजनीतिक अर्थ
- कासिन्द्र यादव, सामाजिक अभियन्ता तथा विश्लेषक
अस्ति दिपेन्द्र जी संग भएको घटना सामाजिक संजालमा व्यापक आलोचना र आक्रोशको विषय रह्यो । हुन त वहाँले यो कुरा आफ्नो फेसबुक वालमा लेखेकै बेला म हेर्न भ्याएको थिए । तर यो त हामी मधेसीहरुको लागि समान्य र दैनिक घटीरहेको घटना भएकोले खासै टिप्पणी गर्न मन लागेन ।
बरु यसको विरुद्धमा संघर्ष गर्ने दिपेन्द्र जी ले लिएको सार्वजनिक संकल्पलाई पढेर खुसी लाग्यो । तर आक्रोश र आलोचना भए पनि विषय बस्तुको गम्भीरताको अनुपातमा बहस नहुदा मलाई पनि केहि लेखौ जस्तो लाग्यो ।
- आखिर किन हामी मधेशी संग यस्तो घटना भईरहन्छ ?
- यसका निदान को उपाय के हो ?
- दिपेन्द्र जी ले लिएको संकल्पको राजनीति अर्थ के हुन् सक्छ ?
- यो संकल्प भित्र कस्तो कार्यभाहरु निहित छ्न ?
मुख्य सवालहरु यी नै हुन । यसमा बहस हुन जरुरी देखिन्छ ।
हो पुस्तौ देखि हामीले आफुलाई नेपाली मान्दै आइरहेका छौ र कसैले हाम्रो नेपाली पहिचान प्रति प्रश्न गर्दा / शंका गर्दा दुख लाग्छ र हामी आक्रोशित हुन्छौं । तर मेरो विचारमा गहरिएर हेर्ने हो भन्ने उनीहरुको यो शंका स्वभावीक नै हो र यसमा दुख मान्नु पर्ने केहि छैन । हामी देश को हिसाबले नेपालवासी त हो तर राष्ट्रिय पहिचानको हिसाबले नेपाली हैनौ ।
नेपाली राष्ट्रियता विजेता समुह (गोर्खाली) को जातीय पहिचान हो । देश भनेको भौगोलिक राजनीतिक इकाई हो, राज्य भएको राजनीतिक-प्रशासनिक युनिट हो र राष्ट्र भनेको खास भूभाग या भूखण्डमा आफ्नै भाषा, संस्कृति, सामाजिक विश्वास र साझा भाव र मनोविज्ञान भएको मानव समुदाय हो । यस अर्थमा राष्ट्र भनेको राजनीतिक संस्कृतिक इकाई हो । राष्ट्र- राज्यको सांस्कृतिक पहिचान नै राष्ट्रियता हुन्छ । नेपालको सन्दर्भमा गोर्खाली शासक समुदायको एकल पहिचान नै नेपाली राष्ट्रियता हो, अहिले सम्म नेपाल राज्यको पहिचान हो । जसमा मधेशी अस्मिताको लागि कुनै स्थान छैन ।
राष्ट्रियता मुलतः सकारात्मक भावमा निश्चित समुदायको अस्मिता र मनोविज्ञानको प्रतिनिधित्व गर्छ । तर यसको स्व (सेल्फ) को को निर्माण लागि अन्य (अदर) को रुपमा देश बाहिरको वाह्य दुश्मन र देश भित्र अन्तरिक दुश्मनको परिकल्पना गरिएको हुन्छ । भारतको राष्ट्रियताको सन्दर्भमा पाकिस्तान र चिनलाई वाह्य दुश्मन र भारतीय मुसलमानलाई अन्तरिक दुश्मनको रुपमा लिदो रहेछ ।
यस्तै, नेपाली राष्ट्रियतामा भारतलाई वाह्य दुश्मनको रूपमा र मधेशलाई भारतको स्थानीय प्रतिनिधिको रुपमा आन्तरिक दुश्मनको रूपमा लिएको अन्तर्निहित भाव छ । त्यसकारण हाम्रो मुल थलो मधेस भैगोलिक हिसाबले नेपालमा भए यहाँको राष्ट्रिय मनोविज्ञानमा हाम्रो पहिचान भारतीय अप्रवासी सरह नै छ । त्यसैले यिनीहरुले मधेशीमा भारतीय हेर्नु स्वाभाविक नै हो र यहाँको राष्ट्रिय मनोविज्ञानमा मधेशी प्रति आशंका, अविश्वास र शत्रुता पाईन्छ जसको पच्छिलो कालखण्डमा मुखर प्रतिनिधित्व ओली र उसका अनुयायहरुले गरिरहेका छन । यिनीहरुको मनोविज्ञान नै यसै आधारमा निर्माण भएको हो । तसर्थ हाम्रो अनुहारमा यिनीहरुले भारतीय हेर्नु स्वाभाविक नै हो ।
नेपाली राष्ट्रियता र पहिचानमा मधेशीको लागि सम्मान र स्थान खोज्नु आफैमा अन्तरविरोधी र केटाकेटी पन हो । यसमा पहाडको जनजातीलाई दोयम दर्जाको नेपाली को रुपमा स्वीकार गरे पनि मधेशीलाई सुईको नोक जतिको पनि ठाउ दिएको छैन । जीवनको प्रत्येक क्षेत्रमा मधेशीहरु यो मनोविज्ञानको शिकार भईराहेका छन । अहिलेको संविधान निर्माण यहि मनोविज्ञानको जगमा निर्माण भएको हो । यसमा मधेश र अन्य उत्पीडित राष्ट्रियताहरु माथि निरन्तर शासन गर्ने कुत्सित गोर्खाली मनोकांक्षा निहित छ ।
यसको निदानको उपाय के छ ?
सबभन्दा महत्वपूर्ण कुरा यो फेसबुक स्टाटसको पुच्छारमा छ जहाँ दिपेन्द्र जी ले नेपाली हुनका लागि पहाडी मात्र जनाउने परिभाषालाई परिवर्तन गर्ने अठोट लिनु भएको छ र नेपालको दोषपूर्ण संरचनालाई भत्काउने कुरा गर्नु भएको छ । वहाँले देशको नयाँ परिभाषा निर्माण गर्ने संकल्प लिनु भएको छ जहाँ हाम्रो सन्ततिलाई कसैले नेपाली हो कि इन्डियन सोध्ने परिस्थिति नहोस् , कसैले सोध्ने दुस्साहस नगरोस । हो हामी सबैले संकल्प लिनु पर्ने आवश्यकता छ । वहाँलाई यसको लागि साधुवाद छ । तर यो संकल्पको राजनीति अर्थ के हुन् सक्छ । यसमा कस्तो राजनीतिक कार्यभार निहित हुन्छ । यो विषय महत्वपूर्ण हो । यसमा गम्भीर बहस हुनु जरुरी छ ।
अहिले सम्म मधेशको राजनीति यस्तै संकल्पबाट प्रेरित छन । यो बेग्लै पाटो हो कि राजनीति कालक्रममा यो पवित्र संकल्प बाट विचलित हुने गरेको इतिहास छ । तर यो समस्या सतहमा सामान्य देखिए पनि यो मधेशको आन्तरिक उपनिवेश र राष्ट्रिय उत्पीडनको सवाल संग जोडिएको समस्या हो । मधेशको सम्मान, पहिचान, प्रतिनिधित्व, पहुँच इत्यादी समस्या हरु यसैका स्वाभाविक लक्षणहरु हुन् । यसको अन्त मधेशको राष्ट्रिय उत्पीडनबाट मुक्ति संग सम्बन्धित छ । यस अर्थमा दिपेन्द्र जी को संकल्पको राजनीतिक अनुवाद मधेशको अन्तरिक उपनिवेशको अन्त र राष्ट्रिय स्वाधीनता (नेसनल लिबरेशन) को लागि हुने राजनीति संघर्षको लागि बचनबद्धताको रुपमा लिनु पर्ने हुन्छ । विभेदलाई अन्त गर्ने सामान्य उदारवादी लोकतान्त्रिक आकांक्षाले मधेशको उत्पीडनलाई अन्त गर्ने संकल्प र कार्यसूचिको जन्म दिन सक्दैन ।
आजसम्म हामी मुल समस्या भन्दा पनि लक्षणको उपचार गर्नमा केन्द्रित रहेका छौ । त्यसकारण न हामी यस अनुकुलको समाज निर्माण गर्न सक्यौ न नेतृत्व उत्पादन गर्न । हाम्रो लागि अहिलेको मुख्य कार्यभार हो मधेसको आन्तरिक उपनिवेश र राष्ट्रिय उत्पीडन बाट मुक्तिको लागि उपयुक्त उपाय अवलम्बन गर्ने र यसको लागि दीर्घकालीन रणनीति तय गरेर काम गर्न प्रतिबद्ध हुने ।
अहिले नेपालले अभ्यास गरेको लोकतन्त्रको आवरणमा जातियतन्त्रको राज्यव्यवस्थाले मधेसको मुल समस्यालाई सम्बोधन गर्दैन । हामीले वकालत गर्दै आएको उदारवादी लोकतन्त्र भित्रको समावेशीकरण र संरक्षणवादले मधेसको पिडालाई केही हद सम्म कम गरे पनि राज्यको वर्तमान संरचनालाई विनिर्माण गर्दै नयाँ संरचनाको निर्माण नगरी यसको निदान हुन सक्दैन । यस अर्थमा एकपल्ट फेरि मधेसीले नयाँ नेपाल निर्माण गर्ने कार्यभारलाई शिरोधार्य गर्नु पर्ने हुन्छ । यसको लागि हामीले मधेश केन्द्रित दलको सल्लाहकार र सहयोगीको भूमिकामा सिमित नरही मधेशको राजनीतिमा ठोस स्पष्ट राष्ट्रवादी (मधेशवादी) धारको निर्माण गर्नु पर्छ ।
अत्याधिक सम्प्रदायिक राज्य व्यवस्था रहेको नेपालमा नागरिक वा राजनीति राष्ट्रियता (Civic Nationality) को निर्माण हुने संभावना छैन । भए पनि यो केवल एकल जातीय राष्ट्रियताको प्रच्छन्न हुनेछ । तसर्थ मधेसको राष्ट्रिय मुक्ति (National Liberation) लाई एक मात्र लक्ष्य निर्धारण गरि मधेसलाई अलग स्वायत्त राजनीति इकाईको रूपमा स्थापना गर्न नेपाललाई बहुराष्ट्रिय राज्यको रूपमा रुपान्तरण गर्न हामी संकल्प लिन सक्नु पर्छ । यसको लागि राष्ट्रिय मुक्तिको संघर्षको लागि मधेसमा राष्ट्रिय चेतना युक्त समाज र अभिजन (अग्रदस्ता) को निर्माण गर्नु पर्छ ।
मधेसलाई राष्ट्रको रूपमा निर्माण गर्दै मधेसी राष्ट्रियतालाई स्थापित गर्नु पर्छ । हामी नेपाली बन्ने स्वयमा अन्तरविरोधी, अर्थहिन प्रयास र ललक बाट मुक्त हुनु पर्छ । त्यसपछि उनीहरुलाई पनि हामीलाई भारतीय भन्नु पर्ने आवश्यकता र अर्थ रहदैन । तर अहिले पनि मुख्य सवाल यही हो कि दीपेन्द्र जी लगायत हामी युवाले मधेसको राष्ट्रिय मुक्तिको लागि संकल्प लिन सक्छौ कि सक्दैनौं । मधेश राष्ट्र निर्माणको लागि संकल्प लिन सक्छौ कि सक्दैनौ । यसको लागि दीर्घकालीन संघर्षको रणनीतिमा काम गर्न सक्छौ कि सक्दैनौं ।