मधेस को माग “सम्मान”

manoj sah (मनोज साह)
मनोज साह

लगभग दुई महिना देखि देशको दक्षिनार्ध ठप्प छ, पचास जना भन्दा बढ़िले ज्यान गुमाइसके|अवस्था यस्तो छ कि कुनै पनि लेख, समाचार वा भाषणमा वास्तविक मृत्यु भएको संख्या भन्नु भन्दा पनि एकमुष्ट ‘पचास जना भन्दा बढ़ि’ अभिब्यक्त गरिन्छ, मानौ हामी मान्छे मरेको संख्या हैन कुनै वस्तु विनाशको कुरा गरिरा’छौ| माओवादी युद्ध देखि लिएर बिभिन्न आंदोलन को चरण पार गर्दै भूकम्प सम्म आई पुग्दा हामी “एकमुष्टे” भइसकेको छौ; मानव जीवनको महत्व बिर्सिसकेका छौ| त्यसमाथि बाट काले, दोस्रो दर्जे, अराष्ट्रीय, बिखण्डनकारी, भैया, धोती, बिहारी, मधिसे एवं बिभिन्न उपनामले सम्वोधन गरिने तराई बासी भुमि पुत्र मधेसी मर्दा संख्या ‘एकमुष्ट’ भनिनु नितांत स्वाभाविक हो|

 

सुगौली सन्धिबाट सुरु भएको काठमांडू र दिल्लीको ‘लव एंड हेट रीलेशनशिप’ राणा काल हुदै त्रिभुवन, पंचायतकाल, बहुदल, माओवादी युद्ध, १२ बुँदे, जनआंदोलन, गणतंत्र, मधेश आंदोलन लगायत सबै ऐतिहासिक एवं महत्वपुर्ण घटना परिघटनामा भारतको भुमिका के रह्यो, कि भुमिका राख्न लगाइयो वा कि भुमिका देखाइयो नेपालको इतिहास बुझेकाहरुलाई थोर बहुत थाहा भएकै कुरा हो| दिल्लीले के पायो काठमाण्डुले के पायो; यी दुबै बीचको दृश्य अदृश्य लेनदेनको लेखाजोखा को संग छ कसले राखेको छ म जस्तो अल्प ज्ञानी सामान्य आम मधेशी नागरिकलाई बुझ्न निकै कठिन छ| यो विषयलाई पाठकको स्वज्ञान एवं स्वविवेकमा छोड्दै अगाडि बढ्न चाहन्छु|

 

भूकम्प रूपी इश्वरीय सन्देश बाट निकै ठूलो झट्का खाएका राजनीति दलहरु र खासमा भन्नुपर्दा इनका त्रिदेवले इश्वरीय सन्देशको वेवास्ता गर्ने कुरै भएन/थिएन नेपाल र नेपालीको उद्धार निम्ति जसरी पनि एक थान संविधान रूपी जादुको खोस्टो ल्याउन यिनीहरु “फ़ास्ट ट्रैक”मा लागिपडे| एक लाई सर्वोच्च पदमा पुग्ने अवसर, एक लाई कीर्तिमान खड़ा गर्ने रहर एक लाई जीवन भर आफुले हिडेको बाटोलाई सही ठहरयाउने अवसर जुट्यो| संविधान के का लागि चाहिने संविधान कसको लागि चाहिने भन्दा पनि संविधान मात्र चाहिने उद्देश्यले सुरमा सुर मिलाउदै मैराथन दौड़लाई सय मिटर को दौड़मा परिणत गरियो| देश जतिनै गरीब भए पनि नेपाल ‘वाद’ मा एकदमै धनि देश हो, विभिन्न समयकालमा यहाँ विभिन्न “वाद” हरुको जन्म भइरहेको हुन्छ| यसपाली एक ढोकाबाट बहुलवाद छिरे अर्को ढोकाबाट समाजवाद उच्चस्तरीय उत्प्रेरक प्रयोग गरि यी दुबै वादहरुको समिश्रण गरियो र अन्त्यमा ‘सहुलियतवाद’ को उत्पादन भयो|सनातन धर्मको रक्षा गर्ने धर्म निरपेक्ष राष्ट्र नेपालको आधार खड़ा गर्ने तर्फ अगाडि बढियो राष्ट्रिय जनावर गाई नै रहने भए यो ‘सहुलियतवाद’ ले सिंगै नेपाललाई छोपेन, छोप्न सकने पनि थिएन जब सिद्धांतको आधारनै एउटा निश्चित स्वार्थले प्रेरित छ भने विभिन्न स्वार्थहरुले भरिएको यो देश कसरी एउटा स्वार्थको अगाडि लम्पसार बस्न सक्थे होला| समथर भागमा आगो बल्यो आंदोलनको शंख नाद फुकियो एक युगमा एक चोटी लेखिने संविधानमा आफ्नो हक़ र अधिकार सुनिश्चित हुने अवस्था नदेखे पछि मधेश आंदोलन मा होमिए खास गरेर राजनैतिक रुपमा सचेत भइसकेका मधेसी युवाहरू स्वतः स्फूर्त रूपमा यस पाली हैन भने कहिले पनि हैन भन्दै लामै संघर्ष गर्ने आंट सहित आंदोलन को मैदानमा उत्रिए| मधेशवादी दलहरुले आर वा पार को नारा दिदै गर्दा आंदोलनले आफ्नो आधार खड़ा गरिसकेका थिए | कुनै पनि आन्दोलनमा आंदोलनकारी नमारिएको पछिल्लो इतिहास नभएको हाम्रो देशमा भारदह बाट मान्छे मर्ने श्रृंखलाको सुरुवात भयो कैलाली घटना सम्म आइपुग्दा आंदोलनकारी मर्दा सामान्य रूपमै लिइएको थियो टिकापुरको घटनाले पाहिले देखिनै आफन्त मरेको शोकमा डुबेको मधेश सहित प्रथम पटक काठमांडूलाई घचघचायो| ठुला ठुला बयान वाजी गरिए दक्षिण पश्चिमको कुरा देखि लिएर आतंककारी सम्मको बिल्ला भिड़ाईए| निश्चय पनि कैलालिको घटना होस या महोत्तरीको यसले आन्दोलनलाई कमजोर र बदनाम गराउन बाहेक केहि गरेन | एक स्वरमा यो घटना हरुको जति निंदा गरे पनि कम छ, दोषीलाई प्रचलित कानून बमोजिम कठघरामा उभ्याइनु पर्छ| कमीशन को रिपोर्ट आइसक्या छ स-शस्त्र प्रहरी प्रमुखलाई प्रमुख दोषी ठहरयाइएको छ, जनपथ र स-शस्त्रको बीचमा तालमेल नहुनुको पछाडि दोषी को ? तत्पश्चात बदलाको भावनामा चुलिएको प्रहरी प्रशासनले भटाभट हवाई फायर गरे, बीरगंज जनकपुर जलेश्वर मा एकमुष्ट मान्छे हरु भुईमा ढले| टीकापुरको लागि दुखेको मुटु फेरी दुखेन| भर्खर तोते बोलीमा बा आमा भन्न सिक्दै गरेका चार वर्षीय बालक मारीदा आत्मा रोएन| ती चार वर्षीय बालकको मृत शरीरको फोटो हेर्दा लाग्छ मानौ भर्खर आमाको दूध खाएर ती बालक चिर निंद्रामा बिलिन छन| हैन हत्याको रूप कसरी फरक? सबै किसिमको हत्याको एकनासले निंदा हुनु पर्ने हैन? मिडियाले प्रहरी को लागि ‘हत्या’ एवं ‘मारिए’ शब्द को चयन गरे भने आन्दोलनको कारिको लागि ‘मृत्यु’| एउटा निश्चित सॉफ्टवेयर मा चल्ने काठमाण्डूको स्वचालित जिंदगी चलिनै रहेको थियो| टैम्पू माइक्रोबस गुडेकै थियो पेट्रोलको नल बंद भएको थिएन रगतको दाग लागेको ट्रकहरुमा राता रात सामान ओसारिएकै थियो| मधेश पस्त काठमांडू मस्तको बेला नै धूमधाम गरि दीपावली मनाउने उर्दी जारी गरिए| दिपवलिकै दिन काठमाण्डूमा पटाखा फुटाईदा बीरगंजमा प्रहरीले बन्दुक पड्काइरहेका थिए खुसीको अवसरमा बलि दिने हाम्रो प्रथा एक जना मधेसीको बलि प्रदान गरियो|सामान्यतया बिहान बिहान मठ मंदिरमा बजेको घंटी सँगै सुरु हुने जनकपुरको दिन गंगा आरती संग सकिन्छ जनकपुरको अवस्था बुझ्न घरमा दिदि लाई फ़ोन गरे उहाँको शब्द “बाबु मैले आफ्नो जीवनमा यस्तो सन्नाटा र अंधकार कहिले देखेको थिईन मानौ कुनै धेरै ठुलो विपदाको संकेत दिदा हुन जीउ कापिरहेको छ यहाँको यस्तो बेनजीर अँध्यारो देख्दा केटा केटीहरु डराएर बसेका छन” एकछिन कल्पना गर्नुहोस विमानबाट त्यों सन्ध्या अवलोकन गर्दा कस्तो दृश्य देखिन्थे होला एउटै देश आधा झम्मक उज्यालोले सजेको छ अनि आधा देश अंधकारमय छ! संयोग भनौ वा बिडम्वना राष्ट्रपतिले संविधान ढोगदै गर्दा उहाको घर मा एउटा मैन बत्ति पनि बालिएन|

 

पहिला देखि नै ऋषि मनले कसैलाई काखा कसैलाई पाखा नगरी संविधान जारी गर्नु भनी भन्दै आएका भारतले संविधान जारी हुनै लाग्दा भगवान रामले लंकामा बानर कुमार अंगदलाई आफ्नो दुत पठाए सरह आधुनिक भगवान मोदीको अंगद जयशंकर काठमांडू झरे, दुतले आफ्नो काम र कर्तव्य मुताविक नै आफ्नो मालिकको गुणगान सहित सन्देश पस्के अंगदले रावणलाई परिणामको बारेमा सचेत गराए झै यिनले पनि सचेत गराए भोली पल्ट प्रचण्ड को प्रचण्ड बोली सुने पछि राम्ररी नै सचेत गराएको भान सजिलै भयो| अघि वर्णन गरिएझैँ काठमांडू र दिल्लीको लव एंड हेट रिलेशनशिप एकदमै कॉम्प्लिकेटेड छ कस्तो भने बुझनै नसकिने| १२ बुँदे ताका देखिएको लव १६ बुँदे मा शोध खोज नगरीदा हेट देखियो कि? नेपालको संविधानमा जस पाउने अवस्था नदेखिए पछि नाराज होईबक्सेको हो कि? बिहारमा चुनावको बेला पारिवारिक सम्बन्ध भएका सीमा वरिपरिको भोट गुम्ने डर ले हो कि? आदेश को उल्लंघन गरिएकोले हो कि? या २-४ जनाको ईगो क्लैश भएको हो कि? खुला सिमाना भएकोले सुरक्षाको चिंता होकि? या कि साच्चि नै मधेसी मारीदा मानव अधिकार वादी देखि लिएर यु.एन. सम्मले चुप्पी साधेको बेला एउटा असल छिमेकीको नाताले मानवीय आधारमा बोलीदिएको हो कि? या अरु कुनै पर्दा पछाडिको कारण होस, यो बेला भनेको काठमाण्डुले कल्पना सम्म नगरेको परिणाम सतहमा देखिए| भन्नेले यसलाई अघोषित नाकावन्दी भने| यहाँ नेरी बिर्सिनु नपर्ने कुरा के छ भने काठमाण्डूको र दिल्लीको बीचमा व्यावसायिक सम्वन्ध छ भने मधेश र भारत को बीचमा पारिवारिक मात्र, लेनदेनमा व्यक्तिगत भन्दा माथि व्यावसायिक सम्वन्धको महत्व हुन्छ|र यो कुरा मधेशले राम्ररी बुझेको छ|

के. पि. ओली जिंदगी भर राजनीति गरेका एक जना राजनीतिज्ञ हुन सबैको आ-आफ्नो सिद्धांत र विचार हुन्छ उहाको पनि आफ्नो विचारधारा छ राम्रो नराम्रो भन्ने भन्दा पनि लोकतंत्र हो कोई उहाँ को विचार मा सहमत होला कोई नहोला लोकतंत्र को सुन्दरता नै यही हो | तर ‘यु पि बिहार जाने’ २-४ वटा आप खसे केहि फरक नपर्ने’ ‘माखे साङ्लो’ जस्ता आफुलाइ हेपिएको महसुस गर्ने आन्दोलनरत एक समुदायको भावनामा प्रत्यक्ष आहत पुग्ने अभिव्यक्ति पटक पटक दिने र दिन सक्ने अक्खड़पन को श्रोत के? एक चोटी भए त ठिकै छ एउटा निश्चित समूहको नेता हुदै अगाडि बढेको उहाँको लिगेसी छ, कहिलेकाहि भिडले सुन्न चाहेको कुरा नेताले भाषण गर्दा भन दिन्छन, सामान्य रूपमै मधेसी जनताले लिन्थे होला | दोहोरिदै गएका उहाको अभिव्यक्ति संयोग मात्र नहोला| नेता भनेको आकाश बाट झर्ने हैन पाताल चिरेर प्रकट हुने पनि हैन, नेता एउटा भीड़को साझा सोचको उपज न हो साझा आवाज को प्रतिविम्ब हो, एउटा भिडले एक नेता रूपी ऐना मा आफ्नो प्रतिबिम्ब देख्छन् र ती नेता एउटा सोच, एउटा विचार, एउटा मनोदशा, एउटा आकांक्षा भएका भीड़को फेस बनेर अगाडि आउछन् | के. पि. ओली एउटा व्यक्ति मात्र भएको भए वहाँको “रेसिस्ट” अभिव्यक्तिको कड़ा आलोचना हुन्थ्यो होला| एक चोटी भूल बस मुखबाट केहि फुत्के पनि फेरी बोल्ने साहस पक्कै गर्दैनथे होला तर यिनी एक व्यक्ति मात्र हैनन, यिनी त एक सोचको प्रतिविम्ब हुन पहिलो संविधान सभा पश्चात आफ्नो फेस गुमाएका एक भीड़को नया आशा रूपी किरण हुन अनि त पटक पटक यस्तो बोलिरहदा पनि आज उहाँ देशको प्रधानमंत्री को दाबेदार हुनु हुन्छ|

 

राज्यका सम्पूर्ण संयन्त्र माथि एकाधिकार भए पछि मीडिया वाञ्छित रहने आधारनै भएन, समाजमा अनेकन उपायले अग्राधिकार कायम गरेर बसेका हरुको सामाजिक संजालमा पनि कब्ज़ा हुनु आश्चर्य जनक कदापि छैन| कस्तो दबदबा भने एघार बारह लाख जनता मिलेर मानव साङ्लो बनाई शांतिपूर्ण आंदोलन को परम उदहारण प्रस्तुत गर्दा ओलीज्युले माखे साङ्लो भने ती भीड़ले नेपाली शब्दकोष तेर्स्याएर माखे शब्द को भरपूर बचाव गरे मानौ नेपाली भाषाको जन्मजात ठेक्का यिनीहरुले पाएको रहेछन, स्वस्थ आलोचना त पर को कुरा हो सच्चा भक्त झै बचावमा ओर्लिए| मधेश तहस नहस हुँदा कानमा तेल हालेर सुतेका यी भीड़ माथि नाकावन्दी पश्चात राष्ट्रवादको भुत जागे चरम राष्ट्रवादको भावना हिमालयको चोटीलाई उछिन्ने| यी तिनै भीड़ हुन जसले जोड़तोड़का साथ #BackOffIndia #DonateOilToIndianEmbassy को ट्रेंड चलाए|

रातो रंगले I Love Nepal लेखेका सेतो टी-शर्टमा सजिएर नेपालको रातो झंडा बोकी इंडियन एम्बेसी को अगाडि राष्ट्रवादको प्रदर्शन गरे| विचारणीय प्रश्न के छ भन्ने त्यतिकै संख्यामा १० दिन अगाडि मधेसी जनता मारिएको विरुद्धमा गृह मंत्रालय अगाडि प्रदर्शन गरेको भए, त्यतिकै जोड़ तोडका साथ #StopKillingMadhesis र #LeadersGoToMadhesh को ट्रेन्ड चलाएको भए के आजको यो दिन देख्नु पर्थ्यो? कति सदभाव कति अपनत्व महसुस गर्थे होला आन्दोलनरत समुदायले? कस्तो भावनात्मक एकताको गाँठो कसिन्थ्यो होला? तर यी भीड़ सुतेका छन पेट्रोल सकेर यिनको राष्ट्रवादी भुत मात्र जागेका हुन यिनीहरु वास्तवमै जागरूक भएको भए चीन र अमेरिका पुग्नु पर्ने कुरा गर्नु भन्दा पहिले मधेश झर्थे होला| चीन पुग्न लाई हिमाल नाघेर जानु पर्यो अमेरिका को लागि डी भी को प्रतीक्षा गर्नु पर्यो यो डी भी पनि भर्खर खुलेको छ पक्कै पनि यसले आफुलाइ चाहिने समय लिने नै छ तर मधेश पुग्नलाई त ४-५ घंटा मै पुगिन्छ|

संविधान सभाको रोस्टम बाट मोदीद्वारा भगवान बुद्धको जन्म दर्ता प्रदान गरिदा एकनासले गुणगान गाएकाहरु पशुपति पुगेर क्षमा पूजा गरे लाग्दो हुन यो देशका प्रधानमंत्री अरु कोई नभएर मोदी नै हुन र आजको परिस्थितिको एकल जिम्मेवार ऊनि नै छन| कब्ज़ा गर्नमा यिनीहरु माहिर छन, हुँदा हुदै पशुपति नाथलाई पनि कब्ज़ा गरे नभए मोदी को क्षमा पूजा गरिनु भन्दा पहिला ‘एकमुस्ट’ रुपमा मारिएका आंदोलनकारी एवं सुरक्षाकर्मी को लागि क्षमा पूजा आयोजना गरिनु पर्थ्यो| मधेसी मर्दा पशुपतिनाथ नरिसाउने ? काठमाण्डुको लामो बसाई पश्चात भगवान पनि “रेसिस्ट” भएको हो ? पशुपतिनाथलाई गुहारिरहदा केदारनाथले सुनेन भने यसको महत्व कति हुन्छ? सत्य त के हो भन देखिन काठमाण्डुले भन्ने गरेका घोषित अघोषित नाकाबन्दी पश्चात प्रहरीले हवाई फायर गरेको छैन, ‘एकमुष्ट’ रुपमा मान्छे ढालेको छैन| काठमाण्डुले आज भोगिरहेको अवस्था मधेशले बिगत दुई महिना देखि भोगिराछ काठमाण्डुले मधेश को बारेमा बोलेन मधेश पनि काठमाण्डूको लागि चुप लागेका छन|

 

हिजो सम्म शेर आज एक जना भिजेको बिरालो भएका छन एकछिनमा जोडले बोल्छन अनि फेरी शांत हुन्छन आफ्नो इतिहास सम्झिदो होलान सायद-टुडिखेल पुगेर राष्ट्रवादको ठुल ठुलो डिंग हान्ने र साइकल चढ़ने उर्दी जारी गर्नेले नाकाबन्दीमा साइकल पनि कहाँबाट ल्याउने हो बाटो देखाइदिनु पर्यो | यो देशको शासन सत्ता कसको हाथमा थियो र छ, दश दिन पनि आफ्नो खुट्टामा उभिन नसक्ने पर निर्भर राष्ट्र निर्माणमा कसको बढ़ि योगदान जो चोर उसैको ठुलो स्वर| आफ्नो अधिकार माग्ने बितिकै देशद्रोही बिखंडकारी हुने? एउटा निश्चित मापदंड पुरा गरेर त्रिभुवन विश्वबिद्यालयबाट राष्ट्रवादको प्रमाणपत्र नबाटीदा सम्म एउटै देशको एक नागरिकले कुन अधिकार स्वरुप अर्को नागरिकसंग राष्ट्रवादको प्रमाणपत्र माग्छन ?

 

मधेसीले भोगेका देखेका बिभेद आज कल अली अली भनिदै आएका छन लेखिदै आएका छन| प्रतिनिधि घटनाको रुपमा मेरो आफ्नो अनुभव- गत मार्चमा नेपाल ओर्लिए नेपाल एयरलाइन्सको आफ्नो परिचय अनुसार नै फ्लाइट दिलो भयो बिहान पुग्नु पर्ने बेलुका पुगे| लाजिम्पाट स्थित एक होटलमा बास बसियो, एक वर्ष पश्चात आफ्नो मातृभूमिमा पाइला टेकेको थिए हर्षको कुनै सीमा थिएन एक छिन आफ्नो देशको हावाको सुगंध लिउ भनी बाहिर निस्के| केहि दैनिक प्रयोग को सामग्री पनि लिनु थियो एउटा पसल भित्र छिरे पसले दाईले हिन्दीमा सम्बोधन गर्नु भयो मलाई आश्चर्य लागेन होटल क्षेत्र हो धेरै भारतीय पर्यटकहरु आउँदा रहेछन पहिलो हेराइमा भारतीय बुझेर सम्बोधन गरिनु मलाई लाग्दैन कुनै मधेसीलाई अनौठो लाग्दा हुन| मैले नेपालीमा जवाफ फर्काए तर उहाँ आफ्नो टूटे फुटेको हिंदीमा जवाफ फर्काई नै रहनु भयो नेपाल झरेको २-३ घंटा पनि भएको थिएन हर्षित मनले पसले दाईको कुरा लाई उपेक्षा गरि रह्यो| हद त कति बेला भयो भन्ने पसलबाट पैसा तिरेर निस्कने बेला सम्म उहाँले हिंदी भाषा छोड्नु भएन| मैले उहाँलाई बिनम्रता पूर्वक आग्रह गरे दाई के मैले बोलेको नेपाली तपाईले बोलेको हिंदी भन्दा ख़राब छ ? मेरो घर बाट हिंदी बोलिने देश नजिक पर्छ त्यसैले यो स्वाभाविक हो मेरो हिंदी तपाईको भन्दा अलिक राम्रो नै होला | उहाँले बल्ल नेपालीमा फर्काउनु भयो “हैन भाई तिम्रो टोन(स्वरोच्चारण) नै मिलेन”| अब हेर्नुस- सरकारी सेवामा कार्यरत मेरो बुवाको पोस्टिंग धनकुटामा हुँदा मेरो जन्म भयो, मैथली भन्दा पहिले नेपाली बोल्न सिके| बच्चै देखि नेपाली भाषामा स्कूल पढ्दा सब भन्दा बढ़ि मार्क्स ल्याउथे, कुनै पनि नेपाली भाषाको प्रतियोगिगतामा सधै फर्स्ट हुन्थे| साथीहरुमा मेरो नेपाली राम्रो छ भनी धाक पनि लगाउथे| जिंदगी भर पढेको, लेखेको, बोलेको भाषा अंतिममा आएर टोन नै मिलेन भन्छन त| एक छिनको लागि लाग्यो जीवन भरको मेरो तपस्या खेर गयो तर मैले कड़ा प्रतिवाद गरे तपाईले बोलेको टोन नै सही छ भने तपाई प्रमाणित गर्न सक्नु हुन्छ म भन्छु मैले बोलेको नै सही हो!

 

सब भन्दा ठुलो विभेद नै छालाको रंग र भाषाको स्वरोच्चारणलाई लिएर छ| आज विश्वभरी अंग्रेजी भाषाको दबदबा छ कसरी यो भाषा को विकाश सम्भव भए होला? विभिन्न ठाउँको मान्छे विभिन्न प्रकारको स्वरोच्चारण छ सबैलाई अंग्रेजी नै मानिएको छ, एक जना नेटिव अंग्रेजी बोल्नेसंग विश्वभरिका कुनै पनि ठाउका व्यक्ति जून सुकै एक्सेंटमा अंग्रेजी बोल्दा अंग्रेजीमै जवाफ पाएका छन| बिहारमा बोलिने हिंदी, दिल्लीमा बोलिने हिंदी मुंबईमा बोलिने हिंदी फरक फरक छन |भाषाको बिभिन्न रूपको स्वीकार्यताले नै होला आज यी भाषाहरु यति धेरै विकसित भएका छन| यहाँ अरबमा टुटेको एक दुईवटा वाक्य अरबी मा बोल्दा पनि अरबी हरुले सम्मान गर्छन उता आफ्नै देशमा आफ्नो राष्ट्र भाषाको एउटा अर्को रूप स्वीकार्य छैन| प्राकृतिक रूप मै अर्को एक्सेंट पाएका मधेसीहरु को लागि भाषाको विभेद बाट मुक्ति पाउन दुईटा विकल्प मात्र छ| या त नेपाली भाषा को यो रूप को स्वीकार्यता, या त नेपाली भाषा को त्याग | तर दुःख कहा लाग्छ भने भाषा प्रति को हाम्रो लगानी छ जीवन देकौ छौ हामीले | साच्चिकै नेपाली भाषालाई माया गर्ने ले त यसलाई फल्न फुल्न दिनु पर्ने हो नि|

ग्रंज पेंट लाएर घुम्छौ हामीलाई कसैले केहि भन्दैन तर हाम्रै अगाडि हाम्रो समुदायको धोती लगाएको वृद्धलाई १६ वर्षे खलासी ले त धोती भन्दै सम्वोधन गर्छन भने सक्किगो नि दशरथ रंगशाला मा दौरा सुरुवाल लगाएर नेपाली झंडा फहरयाउने बेलामा जति राष्ट्र प्रेम झल्किन्छ त्यतिनै राष्ट्र प्रेम धोती लगाएको मधेसीले सोहि रंगशालामा नेपाली झंडा फहरयौदा न झलकिए सम्म नेपाली राष्ट्रवादको काम छैन|

 

त्यतिका आंदोलन हुँदा पनि जनता सड़कमा ओर्ले पनि बड़ो षड्यंत्र मुलक एउटा प्रश्न उजागर भएको छ- मधेशको माग के हो ?

मधेशको माग एक शब्दमा ‘सम्मान’ हो, मधेशले खोजेको सम्मान हो| २२ बुँदे ८ बुँदे यी सबै ती सम्मान प्राप्तिका लागि प्राविधिक पाटो हुन| हाम्रा पुर्खाहरु आफ्नो इज्जत जोगाउदै बिते, तपाई कुर्सीमा बसेर हुकुम चलाउँदा हाम्रा पुर्खाहरु भुईमा बसेर हजुर हजुर भन्दै टूटे फुटेको नेपालीमा सकेजति सम्मान प्रदान गरे, आँखा झुकाएर कुरा गरे| समय परिवर्तन भयो ठुला ठुला आंदोलनहरु भए तर राज्यको बानी परिवर्तन भएन अबका मधेसीको लड़ाई पूर्ण रूपेण नेपाली बन्ने लड़ाई हो, आँखा झुकाएर हैन आँखा मिलाएर कुरा गर्नका लागि हो, पछि पछि हिड़ने हैन संग सँगै हिडन पाउने अधिकार को लड़ाई हो| भारत विरोधी राष्ट्रवादको डंका पिटेर सत्ताको छिना झपटिमा मधेश आंदोलन गलाउने कुनै संकीर्ण सोच छ भने समय रहदै बाहिर निस्किनोस| मध्यमार्गी धारका मधेसीहरुलाई उग्र बन्न प्रेरित नगर्नोस| काठमांडू र दिल्लीको हिसाब किताब मधेश लाई थाहा छैन किन भने मधेश कहिले पनि त्यों सौदाको हिस्सेदार थिएन| मधेशले राज्यसंग आफ्नो सम्मान खोजेको हो राज्य ले नै सम्मान दिनु पर्छ| कुनै पनि कुराको एउटा सीमा हुन्छ समय रहदै आफ्नै देशवासीले उठाएका जायज माग पुरा गरि संविधानको स्वीकार्यता बढाउदै लैजाने र खस्किदै गएको देशको सम्मानलाई बचाउने राज्यको धर्म हो |

यो सिंह दरबार धेरै पुराणो जर्जर भइसकेको छ यसलाई अब नभत्काइ सुख छैन,बृहत् नेपालको कल्पना गर्न सकिदैन|एउटा नया सिंहदरवारको निर्माण गरौ र यसको प्रांगणमा सुन्दर हराभरा नेपाल भरी पाइने फूलहरुको बगैचा निर्माण गरौ र यस्तो माली नियुक्त गरौ जसले बिना कुनै भेदभाव सबै फूललाई सामान रूपले स्याहर सुसार गरुन|

 

भावनामा नबग्ने प्रणका साथ लेख सुरुवात गरेको थिए तर भावनामा बगिएछ आखिर नेपाली न परे! हो प्रमुख कुरा नै यही हो नेपाली रूपी भावनामा तपाईको अधिकार जत्तिकै हाम्रो अधिकार उत्तिकै| जय होस