मनको फाटो टाल्न राज्यराष्ट्र
By गोविन्द स. उप्दध्याय (Govinda S. Upadhyaya)
फाटो भूमिमा पर्ने होइन, फाटो पर्ने भनेको मान्छेको मनमा हो | माने पनि, नमाने पनि नेपाली राजनैतिक शक्तिहरूले अङ्गीकार गरेको राजनैतिक अवधारणाले नेपाली जनताका मनमा फाटो ल्याएको छ |
मधेसी-पहाडी, आदिवासी-गैरआदिवासी, नाक थेप्चे-नाक चुच्चे, मंगोलियन-आर्यका नाममा राज्यनिर्माताहरूले २०७२ को संविधान मै किटानी गरेर कित्ताकाट गरेका छन् | यस्तो कित्ताकाट युरोपेली मोडेलको राष्ट्रराज्य (nation state) को अनुकरणले निम्त्याएको हो | यो कित्त्ताकाटको दूरगामी प्रभाव मन मात्र फाट्ने होइन देश पनि टुक्रिने परिणामको रूपमा आउन सक्दैन भनेर कसैले किटान गर्न सक्दैन |
सबैभन्दा छुच्चो विचार नै हुन्छ | सद्भाव र समझदारीको विचार र त्यसको कार्यान्वयनले मान्छे-मान्छे बिच संद्भावना र सहकार्य बढ्छ भने सशंका र द्वेशको विचार र त्यसको कार्यान्वयनले विप्लव मच्चाउछ | नेपालमा राष्ट्रराज्य (nation state) को विजारोपणले सशंका र द्वेशको विचारलाई राजनैतिक रंगरोगन गरी विप्लव निम्त्याएको हो |
अहिलेको आवश्यकता सबैको पहिचानहरू सुरक्षित गर्दै सद्भावना, सहृदयताको प्रवर्धन गर्नुमा छ | एउटा समुह वा सम्प्रदायको अस्तित्व मेटाएर आफ्नो मात्र बर्चस्व स्थापित गर्नुपर्छ भन्ने मान्यता बढ्नुमा “राष्ट्रराज्य”को अवधारणा नै जिम्मेदार छ |
अवको बाटो राज्यराष्ट्र (state nation) को हुनुपर्छ | राज्यराष्ट्रलाई “चौतारीसंग तुलना गर्न मिल्छ, जसको छहारीमा सबै अटाउँछन् | सबैले अर्काको प्रसंशा गर्दै आपसला असल कुराहरू एकआपसमा सहृदयतापूर्वक शेयर गर्छन् |
नेवारले असल कुरा बाहुनबाट लिन्छ भने बाहुनले असल कुरा गुरुङबाट लिन्छ | मैथिलीले पहाडे चलन सिक्न आतुरता देखाउछ भने पहाडले मैथिली लिपी र संस्कारको प्रवर्धन गर्न चासो देखाउंछ | पहाडे, मधेशी तथा हिमालीको कुरा त हुन्छ तर यी कुराहरू, योजनाहरू एकअर्काको विकासको लागि केन्द्रित हुन्छन् |
नेपाली इतिहास मनन गर्ने हो भने प्राचीनकालदेखि नै नेपाल एउटा राज्यराष्ट्रको सैधान्तिक धरातलबाट निर्मित मुलुक हो | उदाहरणका लागि “राजनीतिदेखि उठेर विचार गर्ने हो” भने दशैँका अक्षता गुरुङको देन हो, नेपाली लोक नृत्यहरू गुरुङ, मगर, राइलिम्वुआदिका देन हुन् |
नेपालका सबै जातिहरूले एकआपसमा धेरै चालचलनहरू अपनाएका छन् | जन्मदेखि मृत्युसंस्कारसम्म एउटाको रितिरिवाजले अर्कोलाई प्रभावित पारेको छ | दशैंतिहार, फागु, लोसार, चण्डीपूर्णिमा, बौद्धपूर्णिमाआदि नेपालीका चाड भएका छन् | नेपाली भूमिमा जन्मेका रितिरिवाज एकआपसमा शेयर गर्न हामी सबैले गर्व अनुभव गर्छौं |
सबैको मूलधार “राज्यराष्ट्र” नै हो | यो ब्यबहारिक तथ्य अव नेतृत्वले पनि बुझ्नुपर्छ | यी कुरा लेखिरहँदा हिजोमात्र हामी सबै नेपालीले श्रीवसन्त पंचमी, श्री सरस्वतीको पूजापर्व मनायौं | यो आज नेपालीहरूको साझा चाड बनेको छ | सरस्वतीलाई देवीको रूपमा स्वीकार गरे पनि नगरे पनि हामी आफ्ना बालबालिकालाई शिक्षित गर्न चाहन्छौ, यो कुरा कसैले नकार्न सक्दैन |
बसन्त पंचमीको पर्वले INGO/NGO र सरकारले करोडौ रुपैया खर्च गरेर गर्न नसक्ने काम “आफ्नो बालबालिकालाई अक्षर आरम्भ गराउ र विद्यालय पठाउ” भन्ने संदेश हरेक नेपालीलाई दिन सफल भएको छ | सरस्वती पूजाका दिन आफ्ना बालबालिकालाई अक्षर आरम्भ गराउने अभिभावकहरू NGO/INGO वा सरकारको करले आएका होइन | “राज्यराष्ट्र”को प्राकृतिक गरिमाले त्यसो भएको हो |
दुर्भाग्य भन्नुपर्छ “राष्ट्रराज्य”को पक्षधर सरकारले एस्तो महान् अवसरलाई “शिक्षादिवस”को मान्यता दिंदैन | अर्को कुरा पनि छ, जुन धर्म र संस्कृतिहरू nation state को भूमिबाट नेपाल छिरेका छन् ती कहिल्यै पनि समावेशी हुँदैन र हुनैसक्दैनन् |
हिजो नेपालीले देशभरी “शिक्षारम्भ” दिवस मान्दै गर्दा मुस्लिम तथा इसाईहरूका शैक्षिक संस्थाहरूले यसको वहिस्कार गरे | Nation state मा अरूको अस्तित्व स्वीकार नै नगर्ने जडता, पूर्वाग्रह र आतंककारी चिन्तन गतिशील हुन्छ | नत्र, सरस्वती पूजाको अवसरलाई उनीहरूले “अक्षरारम्भ” दिवसको रूपमा स्वीकार गरेर आफ्ना शैक्षिक संस्थाहरू खोल्न सक्थे ! यसो गरेनन् किनभने nation-state मा समावेशी, सहकार्य तथा साझापन पूर्णतः अस्वीकार्य छ |
यिनै तकियनुसी “एक भाषा र एक भेष,” को नीतिलाई तिलान्जली दिन नसक्दा र नेपाल को भाषीक-संस्कृतिक-धार्मिक विविधतालाई अंगाल्न नसक्दा नै नेपालमा घृणावाद, पृथकतावाद, आतिवाद, जातीयअहंकारवादको प्रवेश भएको छ |
यसले हामी नेपालीको मानसिक स्वास्थ्यमा घातक प्रभाव सृजित गरेको छ | यो जातीय अहम्वाद, घृणावाद तथा जातीय अतिवादबाट नेपालीलाई निकाल्ने एकमात्र सूत्र भनेको “राज्यराष्ट्र “नै हो | द्विराष्ट्रियता, बहुराष्ट्रियता, जातीय राज्य (nation-state) नेपाली समाजका लागि अप्राकृतिक विषय भएकोले यिनको बहिस्कार आवस्यक छ | यिनको निराकरण आवस्यक छ |
फाटेको मन र फाटेको मनका कारण फाट्न लागेको नेपाली अस्तित्वलाई जोड्ने एकमात्र सूत्र “राज्यराष्ट्र” नै हो |
जातीय, वर्गीय घृणावादी चिन्तनले यो काम हुँदैन | यो सजिलो पनि छ किनभने यो चिन्तन नेपाली भूमिको रैथाने हो र हरेक नेपालीहरूको रगतमा संस्कार बनेर वगिरहेको छ |
यस विषयमा अझै बुझ्न डा. निर्मलमणि अधिकारी तथा डा. गोविन्दशरण उपाध्यायले लेखेको राज्यराष्ट्र अवधारणा र सिद्धान्त भन्ने किताव पढ्न अनुरोध गर्छु |