“मजस्ता हजारौं मधेशीहरुसंग दिनहुुँ त्यस्ता घटनाहरु घट्दै आईरहेका छन्।”
- सरोज राय, सामाजिक अभियन्ता
जुन घटनाबारे Dipendra Jha जी ले आफ्नो पोष्टमा उल्लेख गर्नु भएकोछ, म स्वंम र म जस्ता हजारौं मधेशीहरुसंग दिनहुुँ कुनै न कुनै चौक-चौराहामा त्यस्ता घटनाहरु घट्दै आईरहेका छन्।
करिव एक साताअघि म बस्ने नजिकको मासु पसलमा कुखराको मासु किन्न गए। पसलेलाई सबैले बुझ्ने नेपीली भाषा मै एक किलो मासु देऊ भने। मासु तौल गर्दै पसले ले तपाई भारतीय हो सोधे। जवाफमा मैले भने
‘होईन भाई! म नेपाली हो र नेपाली पनि त बोल्दै छु, फेरी कसरी भन्यो भारतीय हो भनेर?
जवाबमा उसले भन्यो:
तपाई नेपाली जस्तो लाग्नु हुन्न, तपाईको अनुहार भारतीय जस्तो छ।
उसलाई बुझाउंदै भन्ने:
भाई, कहिले तराई झरेको छौ? तल मजस्तो अनुहार भएको करिव एक करोड नेपाली बसोबास गरिरहेको छ।
तिमी पनि मलाई नेपाली लागेनौं! तिम्रो टाउकोमा म नेपाली हुं भनेर कहाँ लेखेको छ? कतै बर्मेली, भुटानी वा भारतीय त होईन?
उसले मुख बिचकाउंदै जवाफ दियो:
कहाँको भारतीय जस्तो अनुहार छ मेरो? भारतीय हुने कुरै भएन र म वर्मेली र भुटानी पनि होईन, नेपाली हो।
उसलाई प्रष्ट पारें की तिमीजस्तो अनुहार भएको भारतको हिमाचल, दार्जेलिगं, सिक्कम, गढवाल, वनारस तिर लाखोमा होईन, करोडौमा छन् जुन भारतीय हो। त्यसैले अनुहारले कसैले यो ठोक्वा गर्नसक्दैन को नेपाली को, कहाँको? बरू अब घाँटीमा ‘म नेपाली हुँ‘ लेखेर राख अनि अनुहार हेर्दै सोध्दै गर्नु तपाई फलानो हो भनेर।
पसले मुख न्यानो पारेर बसी राख्यो, म अर्कै पसलबाट मासु लिएर घर फर्कें।
यसैमा एउटा अर्को प्रसंग जोड्न चाहन्छु- कति जना राम्रो मनसायले पनि सोध्छ कि तपाईको घर भारत कि नेपाल भनेर।केही महिना अगाडी मुग्लिनमा एकजनाले यसरी नै सोध्यो –
मेरो कुराको गलत अर्थ न निकाल्नु होला! तपाई भारतीय कि हाम्रो मधेशमा बस्ने नेपाली? यदि नेपाली हो भन्ने कृप्या मधेशको अवस्थाबारे बुझ्न मन लाग्यो।
उसको कुरा सुनेर सभ्य मुस्कान दिदै म मधेश घर भएको नेपाली नै हो भने र त्यसपछि मधेशको विभिन्न आयामबारे जानकारी गराएँ। आजको दिनसम्म हामी राम्रो मित्रको रूपमा छौं।